दल

कांग्रेस परित्यागकाे घाेषणा गर्दै स्वर्णिम वाग्लेले भने : २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा हुनेछु

इकागज |
चैत १६, २०७९ बिहिवार १६:५० बजे

काठमाडौँ- नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी परित्यागकाे घाेषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस पार्टी परित्यागकाे घाेषणा गरेका हुन् ।

वाग्लेले लेखेका छन्, ‘वि. स. २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।’


वाग्लेले अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताएका छन् ।

‘अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ वाग्लेले भनेका छन्,’ पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ।‘

साथै वाग्लेले स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डासहित २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने समेत जनाएका छन् ।

कांग्रेस छोडेर वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको अनुमान गरिएकाे छ । उनी तनहुँ-१ बाट उपचुनावमा उठ्ने पनि चर्चा रहेकाे छ ।
 

 


Author

थप समाचार
x