दल

बेपत्ता र सत्य निरूपण विधेयक छिटो अघि बढाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

इकागज |
बैशाख १३, २०८० बुधबार २१:८ बजे

कास्की- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन् ।

तत्कालीन दस वर्षे जनुयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिनुभएका विद्यार्थी नेता पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उनले विभिन्न मानिसका चलखेल र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले गर्दा आयोगसम्बन्धी विधेयक लामो समय अड्काएर राखिएको जिकिर गरे ।


उनले भने, 'शान्ति प्रक्रिया सुरु भएको र संविधान निर्माणको लामो समय व्यतीत हुँदासमेत शान्ति प्रक्रियामा व्यवस्था भएका बेपत्ता भएका नागरिकको खोजी र सत्य निरूपण तथा मेलमिलाप आयोगको काम पूरा भएको छैन ।' 

हालसालै मात्र प्रमुख दलहरूबीच सो सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष भट्टराईले भने, 'विधेयक विशेष समितिमार्फत छिटो अघि बढाउने र आयोगबाट टुङ्गो लगाउने भन्ने भएको छ । अब आरोप प्रत्यारोप नगरिकन संवेदनशील विषयलाई छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्दछ ।'
 
डा भट्टराईले सहिद, बेपत्ता तथा घाइतेको विषय माओवादीको मात्र विषय नभएको बताए । जनुयद्धले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीतालगायत विषय सबै पार्टी र जनताको भएकाले त्यसका लागि लड्नेको समस्या पनि सबैको भएको उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न नसके देश डरलाग्दो अराजकतामा फस्नेसमेत उल्लेख गरे । 'देशमा चरम असन्तुष्टि छ । केही समययताका परिघटना हेर्नुस् वा उपनिर्वाचनलाई हेर्नुस् । जुन प्रकारका असन्तुष्टिहरू व्यक्त भइराखेका छन् । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,' उनले भने ।

उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर छिटोभन्दा छिटो जनतालाई सुशासन र समृद्धिको जनताको चाहना पूरा गर्नेतर्फ लाग्नुपर्ने विचार व्यक्त गरे ।


Author

थप समाचार
x