दल

एमाले सांसदहरुले अराजकता देखाए, सबै खाले अराजकताहरुको जवाफ दिन्छौँः सांसद दाहाल

इकागज |
जेठ २२, २०८० सोमबार २१:५५ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरुले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले एमाले सांसदहरुको संसदमा प्रस्तुति असाध्यै अराजक र अशिष्ट भएको बताए । एमाले सांसदहरुले प्रधानमन्त्रीको हुर्मत लिएको उनले बताए । उनले सबै खालका अराजकताहरुको संविधान, प्रतिनिधि सभा नियमावली र अनुशासनभित्र रहेर जवाफ दिने बताए । उनले प्रतिपक्ष दलका सांसदहरुले अराजकता र असंसदीय चरित्रको पराकाष्ठ नै देखाएको बताए । 


उनले भने, – ‘उहाँहरुको प्रस्तुति असाध्यै अराजक, अशिष्ट छ । आजको सदनको उपस्थिति र उहाँहरुको प्रस्तुति, गतिविधि देख्दा अत्याचार नै देखिन्थ्यो । हुर्मत उहाँहरुले लिनुभएको छ । हामी त स्वाभावैले संविधानको मातहतमा रहेर, संसद नियमावलीको मातहतमा रहेर, अनुशासनको जगबाट ती सबै खाले अराजकतालाई जवाफ दिन्छौँ । सदनभित्र केही माननीयज्युहरु त लौ आओ कुस्ती खेल्न भनेर छाती खोलेर बेलैमा आएको पनि यहाँले देख्न सक्नुहुन्छ । त्यहाँ
भन्दा अराजकताको पराकाष्ठा केही हुन्छ ? त्यहाँभन्दा असंसदीय चरित्रको पराकाष्ठा केही हुन्छ ? प्रधानमन्त्री बोल्दै गर्दा बोल्नै नदिने, हुर्मत लिने, सरकारका तर्फबाट आफ्ना कुरा राख्न नदिने जुन खालको गतिविधि देखिन्छ
यो उहाँहरुको असंसदीय चरित्रको पराकाष्ठा हो । सरकारले गर्न लागेको सकारात्मक काम र सकारात्मक परिणामको ईष्र्या हो । डाहा हो भन्ने कुरा मैले देख्नसक्छु ।’

सांसद दाहालले आजको संसद बैठकमा सभामुखको पनि तटस्थ भुमिका नभएको बताए । उनले सभामुखले अमुक पार्टीको कारिन्दा जस्तो भएर सांसदहरुलाई अराजक, असभ्य र अशिष्ट ढंगले पेस हुन मलजल गरेको पनि उल्लेख गरे । 

उनले भने, – ‘सभामुखको भुमिका आज अलिकति पनि सभामुखको जस्तो थिएन । उहाँको तटस्थ भुमिका हुनुपर्ने । संसद नियमावलीको मातहतमा रहेर आफ्नो सदन सञ्चालन गर्नुपर्ने त्यो देखिँदैनथ्यो । उहाँ एउटा अमुक पार्टीको कारिन्दा जस्तो र असाध्यै संसदलाई अराजक ढंगले, असभ्य र अशिष्ट ढंगले पेश हुनको निम्ति मलजल गरेको जस्तो देखिन्थ्यो । सभामुखलाई कमसेकम संविधानको मातहतमा रहेर, संसद नियमावलीको मातहतमै रहेर तपाईले सदन सञ्चालन गरिदिनुस् । सदन सञ्चालनका बेला तपाईले तटस्थता अपनाउनुपर्छ । अमुक पार्टीलाई प्रश्रय दिने,
अराजकतालाई प्रश्रय दिने, अनुशासनहिनतालाई प्रश्रय दिने र सदन सञ्चालन गर्दाखेरी बेथितिलाई प्रश्रय दिने जो उहाँको भुमिका देखिन्छ, त्यो भुमिकाबाट सभामुख पछाडी फर्किनुपर्छ ।’ 

उनले सभामुखलाई तटस्थ भुमिका अपनाउन आग्रह समेत गरे । 


Author

थप समाचार
x