दल

एमाले सुरुदेखि नै आवश्यकताका आधारमा संविधान संशोधनको पक्षमा छ : पोखरेल

इकागज |
असोज ३, २०८० बुधबार १२:४३ बजे

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी शुरुदेखि नै आवश्यकताका आधारमा संविधान संशोधनको पक्षमा रहेको बताएका छन् । एमालेले मंगलबार जनकपुरधाममा आयोजना गरेको ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताए । 

संविधान संशोधनका लागि आवश्यकताको पहिचान हुनुपर्ने भन्दै उनले प्रदेश र स्थानीय तहका कतिपय विषयवस्तुका सवालमा संशोधन आवश्यक रहेको बताए । पोखरेलले सरकार जनताका लागि हुनुपर्ने बताउँदै देशमा सरकार छ भन्ने कुरा जनताले महसुस गर्न नसकेको बताए । उनले हरेक दृष्टिले देशको अवस्था ठीक नभएको भन्दै एमालेले बहुमत प्राप्त गरी सरकार गठन नगरेसम्म देशको अवस्थामा सुधार नआउने बताए । 


पोखरेलले मिसन २०८४ मा एमालेले ५१ प्रतिशत मत प्राप्त गरी आफ्नो नेतृत्वमा सरकार गठन गर्ने योजनाका साथ अगाडि बढेको भन्दै मिसन पूरा गर्न एमालेका विचारलाई जनतामा पुर्याउनुपर्ने धारणा राखे । 

उनले एमालेका नेता एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधान सभाका ९० प्रतिशतभन्दा बढी सदस्यहरूलाई सहमत गराई २०७२ सालमा संविधान जारी गर्न लगाएर देशलाई अनिश्चितताको भूमरीबाट जोगाउने काम गरेको बताए । 

नेम्वाङ समन्वयकर्ताको भूमिका निर्वाहमा अब्बल रहेको स्मरण गर्दै उनले नेम्वाङ भौतिक रूपमा नरहे पनि उनका सद्गुण, विचार र क्षमता हामीबीच सधैँ कायम रहने बताए । 


Author

थप समाचार
x