दल

दिगो, लोकतान्त्रिक र न्यायपूर्ण समाज निर्माण गर्न जरुरी : प्रदीप ज्ञवाली

इकागज |
असोज १५, २०८० सोमबार १८:४६ बजे

फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको विरुद्धमा आवाज उठिरहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले समाजमा असहिष्णुता बढ्दै गएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने आवश्यकता रहेको जिकिर गरे । उनले एसियालाई शान्ति क्षेत्रका रूपमा विकास गर्नुपर्ने भनाइ राखे । उनले शान्तिका पक्षहरूले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी रहेको बताए । 


‘दक्षिण एसिया शान्तिको पवित्र स्थल हो । आज भन्दा २६ सय वर्षअघि गौतम बुद्धले यहीँबाट शान्तिको सन्देश छर्नुभयो । त्यसको उत्तराधिकारीको रुपमा महात्मा गान्धी २४ सय वर्षपछि उहाँ हुनुहुन्थ्यो । शान्तिक अग्रदूत जन्मिएको यो दक्षिण एसियामा हामीले शान्तिलाई किन कल्चर बनाउन सकेका छैनौँ ? किन असहिष्णुता बढ्दै गएको होला ? झन पछिल्लो समय विज्ञान र प्रविधिमा जुन ढंगको तीब्र विकास भएको छ, यसले जुन ढंगको असहिष्णुता अराजकता बढाएको छ, असहिष्णु कल्चर विकास हुन थालिरहेको छ, यसका जरा के होलान् ? दक्षिण एसिया यस्तो त नहुनुपर्ने हो ।’

उनले अगाडि भने, ‘गणतन्त्र आएको १६ वर्ष बित्दा नबित्दै समाजमा जुन ढंगको असन्तुष्टि व्यक्त भइरहेको छ, यसलाई गलत दिशातिर लैजाने, लोकतन्त्रकै विरुद्ध, राष्ट्रिय एकताकै विरुद्ध प्रयोग गर्न खोज्ने खालका प्रवृत्तिहरू देखा पर्दै छन् । यसमा हामी शान्तिका पक्षहरूले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी हुन्छ ।’

नेता ज्ञवालीले समाजमा असहिष्णुरूपी संस्कृतिको विकास हुँदै गएको प्रति चिन्ता व्यक्त गरे ।
 


Author

थप समाचार
x