दल

धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताको एकतालाई तोड्ने काम भइरहेको छ : प्रदीप यादव

इकागज |
असोज १८, २०८० बिहीबार १६:५२ बजे

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका नेता तथा प्रतिनिधिसभा सांसद प्रदीप यादवले मधेसमा धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताको एकतालाई तोड्ने काम भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘मधेसको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता हो,’ उनले भने, ‘मधेस आन्देलनमा दुवै समुदाय मिलेर सँगसँगै रगत बगाएका छन् । तर, धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताको एकतालाई तोड्ने काम तीव्र गतिमा भइरहेको छ । यसले मुलुकलाई फाइदा गर्दैन ।’


उनले धार्मिक द्वन्द्व चर्काउने र हिंसा भड्काउने अभिव्यक्ति दिने जो सुकैलाई कारबाही गर्नसमेत सरकारसँग माग गरे । प्रहरी प्रशासन अलर्ट नभएर यस्तो द्वन्द्व भएको र कर्फ्यु लगाउनु परेको समेत दाबी गरे ।

‘धार्मिक तनाव वा दंगा अचानक हुँदैन,’ उनले भने, ‘एउटा पृष्ठभूमि हुन्छ कि कथानक हुन्छ । द्वन्द्वका बीउहरू छर्ने, हुर्काउने काम पहिलेदेखि नै योजनाबद्ध रूपमा भइरहेको हुन्छ । मैले केही दिनदेखि हेर्दै छु मधेसका केही जिल्लाहरूमा धार्मिक जुलुस निकाल्दा होस् या धार्मिक हिंसामा जानेहरू होस् । उनीहरूको हात हातमा एकै नासको झण्डा र एकै साइजको डन्ठा हुन्छ । यो कहाँबाट बन्यो, कहाँबाट आयो ?’

उनले अगाडि भने, ‘सरकारको ध्यान र नजर किन पुगेन ? जुन जुन जिल्लामा पुलिस प्रहरी अलर्ट भयो त्यहाँ कर्फ्यु​ लगाउन परेन दंगा भएन । तर, जुन जुन जिल्लामा प्रहरी प्रशासन अलर्ट भएन त्यहाँ कर्फ्यु लगाउन बाध्य भयो ।’

सांसद यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिको निगरानी गर्नसमेत सरकारलाई अनुरोध गरे । 
 


Author

थप समाचार
x