दल

युवालाई विदेश पलायन गराएर सुनियोजित रुपमा मुलुक रित्याउन लागिएको छः अध्यक्ष केसी

इकागज |
असोज १८, २०८० बिहीबार १८:१७ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरूलाई विदेश पलायन गराएर सुनियोजित किसिमले मुलुक रित्याउन लागिएको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालका श्रमिक र विद्यार्थीहरू विदेश पलायन भइरहेका भन्दै त्यसलाई रोक्नुपर्ने बताएका हुन् । उनले नेपालमा रोजगारी दिन नसके युवाहरू विदेशिए भनेर गोहीको आँशु चुहाउनुको अर्थ पनि नभएको बताए । उनले युवाहरू विदेशिएको सम्बन्धमा विशेष एजेण्डा बनाएर संसदमा छलफल गर्नुपर्ने बताए । यसरी नै युवापुस्ता विदेशिए आगामी २० वर्षमा मुलुक रित्तिने बताए । 


उनले भने, – ‘हामी सबैले यहाँ गोहीका आँशु बगाउँछौ । नेपालमा विद्यार्थीहरू, श्रमिकहरु सारा विदेशतिर गए । अनि यहाँ गोहीको आँशु चुहाउनुको औचित्य के होला ? म दंगदास पर्छु । नेपालमा उद्योगधन्दा, कलकारखाना छैनन् । खानी फ्याक्ट्री छैनन् उहीले हामीले बेचिसक्यौँ । लिलाम गरिसक्यौँ । त्यस्तो गर्ने हामी यहीँ छौँ । तैपनि हामीले गोहीको आँशु चुहाउन छोड्दैनौँ । अर्को कुरा नेपालमा विशुद्ध पढ्ने ठाउँ नभएर, सबै बेरोजगार भएर काम नभएका मान्छे मात्रै गएका छन् भन्ने हुँदै होइन । नेपालमा यस्तो खालको रोग लाग्यो कि बेरोजगारहरु पैसा भएकाले राम्रो शिक्षा लिन जानु बेग्लै कुरा हो, तर यहाँ त के भयो भने मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनिमनिका छोरा सबैको एउटै मात्र उद्देश्य के छ भन्दाखेरी नेपालमा केही हुन्न । त्यसकारणले जाने गन्तव्य अमेरिका, युरोप, अष्ट्रेलिया । त्यो गर्न नसक्ने कमसेकम जापान । त्यसकारण यो सुनियोजित किसिमले मुलुक रित्याउने स्थिति भएको छ । यो एजेण्डामा संसदमा हामी सबैले छलफल गर्नुपर्छ । के कारणले आज नयाँ पिँढी रित्तिएर गइराखेको छ, यही रुपले जनता भाग्ने हो भने मुलुकमा रित्तै हुन्छ १०/२० वर्ष पछि त । त्यसकारणले यसमा संसदमा एजेण्डा बचाएरै हामी सबैले गम्भीर रुपले छलफल गरेर यसको निकास निकाल्नुपर्छ ।’

उनले यस विषयमा संसदमा विस्तृत छलफल गर्दै निराकरणका लागि बेलैमा सतर्क हुनुपर्ने बताए । 


Author

थप समाचार
x