दल

चुनावमा करोडौं असुली गर्न सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत राखियो : कांग्रेस सांसद शर्मा

इकागज |
असोज २०, २०८० शनिबार १६:२८ बजे

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीले ठूला व्यापारीबाट करोडौं असुली गर्नका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आफ्नो कार्यालय मातहत राखेको आरोप लगाएका छन् ।

शनिबार सिंहदरबारमा आयोजित सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले चुनावी प्रयोजनका लागि करोडौं रुपैयाँ असुली गर्नका लागि सो विभाग प्रधानमन्त्रीले आफ्नो मातहतको कार्यालयमा राखेको जिकिर गरेका हुन् ।


सांसद शर्माले देशमा कानुनलाई टेकेर नै अपराध गर्ने काम भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले क्यासिनो सञ्चालनका लागि तोकिएको पैसाको सीमाको दायरा बढाउने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

अर्की सांसद नागिना यादवले देशको हित हुने गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन निर्माण गर्नुपर्ने बताइन् । नेपाल पर्यटन र रेमिटेन्समा आधारित मुलुक भएको उल्लेख गर्दै उनले पर्यटकहरूका लागि उपयोगी हुने खालका कानुन निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

सांसद यादवले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई यथास्थितिमा पारित गराउने पक्षमा आफूहरू नरहेको पनि पटकपटक दोहोर्याए ।

 


Author

थप समाचार
x