दल

एमाले गण्डकी अधिवेशनको प्यानलप्रति केपी ओली असन्तुष्ट

इकागज |
कात्तिक १३, २०८० सोमबार २०:२६ बजे

पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेश अधिवेशनमा प्यानल बनाएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

गण्डकी प्रदेश कमिटीको शपथ ग्रहणसहितको विशेष समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले प्यानल बनाएर चुनाव लडेकोमा असन्तुष्टि जनाउँदै यसले जनस्तरमा राम्रो सन्देश नगएको बताए । उनले गण्डकीमा प्यानल बनाएर लड्दा स्वस्थ प्रतिस्पर्धा नभएको टिप्पणी जनस्तरबाट आएको भन्दै ओलीले अब एकताबद्ध भएर सबैलाई समेटेर अघि बढ्न निर्देशन दिए ।


प्रतिस्पर्धा भनेको विचारमा हुने भन्दै एमालेभित्र विचारमा एकता भएका बेला पदका लागि प्रतिस्पर्धा हुँदा गलत प्रवृत्ति भित्रिन सक्नेमा सचेत रहनसमेत अध्यक्ष ओलीले आग्रह गरे । उनले पार्टीको सम्पूर्ण ध्यान 'मिसन ८४' मा केन्द्रित गर्नुपर्ने भन्दै आन्तरिक विवादमा रुमलिन नहुने बताए ।

ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको मिथ्या आरोप लगाएको बताए । लगानी गरेको पत्ता लगाएमा थप १ हजार बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने उनले चुनौती दिए ।

ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु । देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु । एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो ।’ 

कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएकाले अब एमालेकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरिने बताए । उनले समाजवादी क्रान्तिका लागि कृषिमा आत्मनिर्भर बन्नैपर्नेमा जोड दिए ।

उनले भने, ‘नेकपा एमालेले समाज सुहाउँदो कार्यक्रम लिएर जनवादी आन्दोलनको, जनवादी क्रान्तिको नेतृत्व गर्यो । श्रमजीवी जनताको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्यो । अब हामी समाजवादी क्रान्तिको फेजमा प्रवेश गरेका छौं । यो भनेको लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने कुरा हो । हामीले लेनिनवाद मान्ने भनेको समाजवादी क्रान्ति सम्पन्न गर्ने हो ।’

उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावाद जबरजस्त रूपमा रहेको बताएका छन् । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादविरुद्ध लड्न नेता-कार्यकर्ताहरूलाई उनले आह्वान समेत गरे ।

एमाले सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्टले पार्टीभित्र एकले अर्कोको खुट्टा तान्ने यदुवंशी विनासको बाटोमा रहेको बताए । कार्यक्रममा नेकपा एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारीलगायतका नेताले अब एकताबद्ध भएर पार्टी अघि बढ्ने बताएका थिए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गराएका हुन् । सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८५ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।


Author

थप समाचार
x