दल

ओली भन्छन्- स्वास्थ्य कस्तो छ भनेर सोध्‍नेलाई अझै २० वर्ष राजनीति गर्ने जवाफ दिन्छु

इकागज |
कात्तिक १७, २०८० शुक्रबार ९:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइरहेको बताएका छन् । बिहीबार साहित्यकार अनु शाहको कविता कृति अनुरागको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो आलोचना अहिलेसम्म भएको नसुनेको भन्दै आलोचना गर्ने ठाउँ नपाएपछि विरोध गरिहेको बताए । उनले नेपालको भूमि समेटेर नक्शा जारी गरिसकेपछि केही विदेशी सञ्चारमाध्यमहरुले आवेगमा कम्बोडियामा ३ हजार करोड लगानी रहेको भ्रमपूर्ण समाचार प्रकाशित गरेको कुरालाई अहिले प्रचार गरिएको बताए ।


उनले उक्त सञ्चारमाध्यमहरुले गल्ती भएको स्वीकार गरिसकेको कुरालाई अहिले विरोधका लागि प्रचार गरिएको बताए । अध्यक्ष ओलीले कुनैपनि कम्पनीमा तीन हजार करोड लगानी गर्दा गाप्य नरहने भन्दै उनले सो लगानी गरेको पत्ता लगाउनेलाई उक्त रकमसहित एक हजार बक्सिस दिने बताए । उनले आफूले देश र जनताकाप्रति निष्ठाका साथ गरेको कामलाई जीवनभर गरिरहने बताए ।

‘मेरो अहिलेसम्म आलोचना भएको मैले सुनेको छैन । विरोध मैले सुनेको छु । आलोचना गर्ने ठाउँ नपाएपछि मानिसले विरोध गर्छ । यो कुरा गलत बोल्यो भन्ने, विचार यो, व्यवहार यो गलत गरेको छ भन्ने ठाउँ छैन । त्यो नभएपछि झुटा आरोप लगाउँछ' उनले भने 'आरोप भनेको आलोचना होइन । आलोचना भनेको यो गलत भयो, यहाँ गल्ती भयो भन्ने हो । यो अहिलेदेखि होइन, पहिल्यैबाट हो । पशुलाई नथुन्ने गरी मलाई थुनियो । अहिलेसम्म पनि झुट बोलिरहेका छन् ।'

'मैले नेपालको भूमि समेटेर नक्शा छापेपछि केही विदेशी मिडियाहरुले अत्यन्त उत्तेजित भए, मेराविरुद्ध लेखे, जथाभावी लेखे, कुनै मर्यादाको सीमा रहेन' उनले भने 'त्यो आलोचना होइन, विरोध हो । पछि यो गल्ती भयो भने । अहिले फेरि त्यही कुरा ४ वर्षअघि गल्ती भयो, आवेशमा बोलियो भनेर स्वीकारीसके । अहिले त्यही कुरा एकथरीले लिएर हिँडेका छन्, कम्बोडियामा लगानी भनेर' उनले भने 'मलाई थाहा छैन, ट्रकमा पठाएँ की जेटमा पठाएँ की । त्यो तीन हजार करोड पत्ता लगाउ, तिमीलाई नै दिउँला र बक्सिस स्वरुप १ हजार दन्छु भनेको थिएँ । त्यत्रो लगानी छ भने गोप्य रहँदैन होला । मैले देश र जनताकाप्रति जुन निष्ठाका साथ काम गरेको छु, त्यो जिन्दगीभर छोड्दिन ।’

अध्यक्ष ओलीले अहिले पनि आफूलाई स्वास्थ्य कस्तो छ ? भनेर जिस्क्याउने गरेको आशय व्यक्त गरे । उनले स्वास्थ्य कस्तो छ भनेर धेरै पटक सोधिरहनेहरुलाई अझै २० वर्ष राजनीति गर्छु भन्ने जवाफ दिएको बताए ।

उनले भने ‘अलि पछाडि अब क्यान्सरको पनि भ्याक्सिन नै निस्किन्छ । जन्मने बित्तिकै लगाइदियो त्यसपछि केही पनि छैन, त्यसकारण हामी आशावादी हुनुपर्छ । त्यही भएर मैले कस्तो छ स्वास्थ्य, कस्तो छ आजकाल तपाईंलाई भनेर सोधिरहन्छन्, त्यसैले अझै २० वर्ष राजनीति गर्छु भनिदिएको हुँ ।’

अध्यक्ष ओलीले सबै जना सधैँ आशावादी भएर जिउन सिक्नुपर्ने बताए ।


Author

थप समाचार
x