दल

युवा संघद्वारा प्रधानमन्त्री दाहालको राजीनामा माग

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १८:३७ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा आबद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालका नेता, कार्यकर्ताले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गर्दै रिगल भनिने गुण्डा नाइके योगराज ढकाललाई आममाफी दिने निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश दिएकाले नैतिकताको आधारमा प्रधानमन्त्री दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजीनामा दिनुपर्ने बताएका हुन् ।


काठमाडौँको बिजुली बजारबाट नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै संघका अध्यक्ष क्षितिज थेवेले जघन्य अपराधका घटनामा संलग्नलाई आममाफी दिने प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले सामाजिक सद्‌भाव कायम गर्न हिँडेका आफ्ना संगठनका नेता, कार्यकर्तालाई नियन्त्रणमा लिने काम नगर्न पनि सरकारलाई सचेत गराए ।

प्रदर्शनकारीहरूले सरकारले तस्करी, अराजकता र अवसरवादलाई प्रश्रय दिने काम गरेको भन्दै नाराबाजी गरेका थिए ।


Author

थप समाचार
x