दल

स्तरीय क्रिकेट मैदानहरूको निर्माण गर्नुपर्छ : अध्यक्ष ओली

इकागज |
मंसिर ७, २०८० बिहीबार १७:४० बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्तरीय ढंगले क्रिकेट मैदानहरूको निर्माण गर्नुपर्ने बताएका छन् ।

बिहीबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गरेको केपी ओली कम टी-२० क्रिकेटको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपालमा उपयुक्त खेल मैदानहरू नभएको भन्दै स्तरीय क्रिकेट मैदानहरू निर्माण गर्नुपर्ने बताएका हुन् । उनले कुनै पनि अभावहरूमा क्रिकेट खेलाडीहरूको उत्साह र मनोबलमा कमी नआएको भन्दै आगामी दिनमा पनि मनोबल कमजोर पार्नु नहुने जिकिर गरे ।


अध्यक्ष ओलीले खेल क्षेत्रमा सरकारले गर्नुपर्ने काम कर्तव्यमा कुनै कमी आउन नदिन पनि सरकारसँग आग्रह गरे ।

‘क्रिकेट खेलाडीहरूले पहिले नै पाइसकेका पुरस्कारहरू सरकारबाट उठाउन बाँकी होला । बक्यौता होला । त्यो राम्रो कुरा होइन । तर, हाम्रा क्रिकेट खेलाडीहरूको उत्साह र मनोबलमा कुनै कमी आएको छैन । आउनु हुँदैन यस्तो कुनै पनि कुराले । हामीसँग उपयुक्त खेल मैदान छैनन्,' उनले भने, 'हामी निर्माणाधीन खेल मैदानमा आज पनि प्रतिष्पर्धा सुरु गर्दैछौँ । प्रतियोगिता सुरु गर्दैछौँ । अवश्य पनि हामी यस क्रिकेट मैदानको उपयुक्त ढंगले निर्माण गर्नेछौँ । यसलाई स्तरीयता दिनेछौँ । सरकारसँग आग्रह गर्न चाहन्छु, सरकारले गर्नुपर्ने काम, कर्तव्यमा कुनै प्रकारको कमी नहोस् । त्यतापछि म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले खेलाडी र प्रशिक्षकहरूप्रति आफ्नो उच्च प्रशंसा र सम्मान रहेको पनि बताए ।


Author

थप समाचार
x