दल

मिसन ८४: के दलको काम चुनाव पर्खने मात्रै हाे ?

इकागज |
मंसिर २१, २०८० बिहीबार १२:११ बजे

फाइल तस्बिर

काठमाडौँ—निर्वाचन भएको १ वर्ष पूरा हुँदा नहुँदै राजनीतिक दलहरू अन्य काम थाँती राखेर मिसन ०८४ भन्दै चुनावी अभियानमा जुटेका छन्  । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले मिसन ग्रास रुट सकाएर  मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा छ ।

मंसिर १४ देखि पुस १ सम्म एमालेले बैतडीको झुलाघाटदेखि २६ जिल्ला हुँदै पाँचथरको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा सुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीसहितको टिमले यस मध्येका विभिन्न जिल्लामा आफ्नो अभियान गरिरहेको छ । 


यो अभियानले पहाडी क्षेत्रमा स्थानीयमा आफ्नो पकड बनाउन एमालेको अभियान भएको नेताहरूले बताएका छन् ।  तर राष्ट्रिय मुद्दालाई थाँती राखेर चुनावी तयारीमा जुट्नु अहिलेको आवश्यकता नभएको राजनीतिक विश्लेषकहरुको भनाइ छ । 

अहिले देशमा अर्थतन्त्रलगायतका विभिन्न क्षेत्रमा संकट देखिएको छ । महत्वपूर्ण कानुनहरू नबन्दा संघीयता नै कमजोर भएको छ । संसद्को बजेट अधिवेशन अन्त्य भएर अर्को अधिवेशन सुरु नभएको अवस्था भए पनि संसदका समितिहरूमा विभिन्न महत्वपूर्ण छलफलका विषयहरू राखिएको छ । तर सांसद्हरू चुनावी मिसनको दौडाहमा भएको महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन । 

यस्तै एमाले मात्रै नभएर गत निर्वाचनबाट चौथो दलको रूपमा स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २०८४ कै निर्वाचनको तयारी स्वरूप मंसिर ३, ४ र ५ गते निर्वाचन क्षेत्रमा केन्द्रित रहेर घरदैलो अभियान चलायो । घरदैलो अभियानपछि रास्वपाको मधेशमा केन्द्रित भएको छ । पछिल्लो केन्द्रीय समितिको पछिल्लो बैठक पनि रास्वपाले महोत्तरीको जलेश्वरमा राखेको थियो । उक्त बैठकबाट रास्वपाले १२ सदस्यीय सचिवालय पनि निर्माण गरेको छ । 

अहिले सभापति रवि लामिछाने प्रवासमा संगठन निर्माण र विस्तार अभियानमा जुटेका छन्  । सभापति लामिछानेसँगै सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहरा पनि प्रवास संगठन निर्माणमा लागेका छन् । रास्वपाको प्रवास भेला मलेसियाबाट कतार हुँदै बेलायतमा पुगेर टुंग्याउने तयारी छ ।

तर, राजनीतिक दलहरू निर्वाचन भएको १ वर्ष पनि पूरा नहुँदै चुनावमा होमिँदा राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दाहरू छायाँमा परेका छन् । पाटीहरू चुनाव केन्द्रित भएर अभियानमा जाँदा संसदीय समितिहरूमा संख्या नै नपुग्ने अवस्था भएर काम गर्न सकेका छैनन् । अहिले राजनीतिक दलहरूको काम भनेको एउटा चुनाव पनि अर्को चुनावको तयारीमा जुट्ने जस्तो मात्रै देखिएको छ ।

राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेल दलहरूको काम चुनाव लड्ने मात्रै नभएको बताउँछन् । ‘चुनाव लड्ने मात्रै राजनीतिक दलको काम होइन,’ उनले भने, ‘राजनीतिक दलहरूको काम बहुमत पुग्दा सरकार चलाउने हो । सत्तारुढ दलले राष्ट्रको नीतिमा हस्तक्षेप गर्ने र जनअपेक्षाका काम गर्ने हो । प्रतिपक्षमा हुने दलको काम भनेको रचनात्मक प्रतिपक्षमा बस्ने हो । त्यो भनेको सरकारका राम्रा कामलाई जस दिने नराम्रा कामको आलोचना गर्ने ।  राम्रो काम गर्नलाई सुझाव दिने हो ।’

प्रतिपक्षी दलले सरकारले  गरेका गलत कामको भण्डाफेर गर्ने र राम्रो कामको प्रशंसा गर्नुपर्ने बताउँछन् प्रा. पोखरेल । तर अहिले प्रतिपक्षी दलहरू आफ्नो चुनावी अभियानमा लागेर राष्ट्रिय राजनीतिका मुद्दामा आफ्नो भूमिका देखाउन सकिरहेका छैनन् । 

राजनीतिक विश्लेषक राजेश गौतम नेपालका राजनीतिक दलमा राजनीतिक संस्कार नै नभएकाले दलहरू चुनाव सकिएको एक वर्ष नपुग्दै फेरि चुनावी अभियानमा होमिएको बताउँछन् । 

‘नेपालमा राजनीतिक दलमा राजनीतिक संस्कार नै भएन,’ उनले भने, ‘राजनीतिक पार्टीले जनताको एउटा म्यान्डेट लिइसकेपछि जनताको पक्षमा काम गर्नुपर्छ । उनीहरूको पक्षमा बोलिदिनुपर्छ । त्यो काम चै नगर्ने अनि, एउटा चुनाव सकिएर सत्तामा आएर बस्न पाएको छैन । दोस्रो चुनावको व्याख्या गरेर, प्रचार गरेर हिँड्नु राजनीतिक संस्कार होइन ।’

राजनीतिक दलहरू प्रजातन्त्रको नाममा प्रजातन्त्रलाई दुरूपयोग गरेको विश्लेषक गौतम बताउँछन्  । दलहरूले अहिले व्यवस्थामा उठेका प्रश्नहरूमा छलपल गर्नुपर्ने र महत्वपूर्ण मुद्दाहरूलाई जनताको पक्षबाट उठाउनुपर्ने बताउँछन्  ।

‘यो समयमा व्यवस्थाको विरोधमा आवाज उठेका छन्,’ विश्लेषक गौतमले भने, ‘राजतन्त्रका कुरा उठेका छन् । संघीयताको विषयमा कुरा उठेका छन् । अहिलेको व्यवस्थामा भएका कमी कमजोरी के भए ? यसमा भएका कमी कमजोरी के हो ? छलफल गर्नुपर्ने थियो । तर त्यो काममा पार्टीहरू लागेनन् । आश्वासनको पवृत्तिमात्रै भयो काम भएन ।’ 

विश्लेषक खनाल नयाँ दलहरूले संगठन बनाउन लागेको कुरालाई भने सकारात्मक रुपमा लिनुपर्ने पनि बताउँछन् । रास्वपा नयाँ दल भएकाले खाली समयमा संगठन विस्तार गर्नका लागि चुनावी अभियान चलाएकोमा अन्यथा लिनु नहुने उनकाे भनाइ छ ।

 ‘रास्वपा अहिले नितान्त नयाँ दल हो,’ उनले भने, ‘सहरबाट निश्चित समयमा जन्मिएको पार्टी हो । यसले आफ्नो बेस बनाएकै छैन । आधार नभएको पार्टी भएकाले प्रदेशहरूको निर्वाचनमा उम्मेदवार पनि पाएको थिएन । यसले आफ्नो संगठन बनाउन अघि सर्नुलाई अन्यथा लिनु हुँदैन ।’  

सत्तारुढ दल कांग्रेसले भने अहिले मिसन ८४ भनेर अभियान सञ्चालन गरेको छैन । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिले मिसन ८४ को चिन्ता लिनुपर्ने बेला नभएको बरु त्यो बीचमा देशलाई कसरी अगाडि बढाउने भनेर चिन्ता लिने बेला भएको बताएका छन् ।

 ‘मिसन ८४ का लागि चिन्ता लिन पर्दैन, २०८१–८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ,’महामन्त्री शर्माले भनेका छन् ।

 माओवादी केन्द्रले पनि जनतासँग माओवादी अभियान भदौबाट सुरु गरेको थियो । यो अभियान माओवादीले पुससम्म चलाउने गरी योजना बनाएको छ ।  माओवादीको यो अभियान पनि आगामी चुनाव लक्षित योजना हो । 


 


Author

थप समाचार
x