दल

एनसेल प्रकरणमा गगनले भने : समिति बन्यो ठीक हुन्छ भन्ने अवस्था छैन

इकागज |
मंसिर २१, २०८० बिहीबार १८:२० बजे

काठमाडौँ- ​ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेल प्रकरणमा ठूला चलखेल हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा एक पाेष्ट लेख्दै उनले एनसेलको खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठूलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिने भनाइ राखेका छन्  ।

उनले भने, 'तत्कालै यो प्रकरणमा विभिन्न तहबाट प्रश्न उठेकै छन् । संसदीय समितिमा, गठबन्धन दलका बैठकमा, पार्टीभित्र बाहिर सबैतिर । सरकारले समिति बनाएको छ भने सार्वजनिक लेखा समितिले “समग्र प्रक्रियामा अनुसन्धान गर्नुपर्ने देखिएकाले त्यो पूरा नहुन्जेल शेयर बिक्रीको प्रक्रियालाई रोक्न निर्देशन” दिएको छ । '


सरकारले एनसेल प्रकरणबारे छानबिन गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको थियो ।

उनले लेखेका छन्:

एनसेलको खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठूलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिन्छ ।

तत्कालै यो प्रकरणमा विभिन्न तहबाट प्रश्न उठेकै छन् । संसदीय समितिमा,गठबन्धन दलका बैठकमा,पार्टी भित्र बाहिर सबैतिर । सरकारले समिति बनाएको छ भने सार्वजनिक लेखा समितिले ‘समग्र प्रक्रियामा अनुसन्धान गर्नुपर्ने देखिएकाले त्यो पूरा नहुन्जेल शेयर बिक्रीको प्रक्रियालाई रोक्न निर्देशन’ दिएको छ ।

तर, समिति बन्यो सबै ठिक हुन्छ भन्ने अवस्था छैन । कानुनको छिद्र दुरुपयोग गरेर यस्तो गरेको प्रस्ट देखिन्छ । यसमा बदनियत छ, किनकि पहिला पनि पटक पटक यस्तो गरेका दृष्टान्त छन् । राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाइकन यत्रो अनियमितताको हिम्मत आउँदैन । जसको आडमा यो भएको छ र जो प्रत्यक्ष परोक्ष संलग्न छन् अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन् ।

अतः उनीहरूलाई असफल बनाउने भनेको यो प्रकरणमा जो जहाँ बसेर प्रतिरोध गरिरहेका छौ, हाम्रो प्रयासलाई एकीकृत बनाउने हो, जसरी विगतमा प्रतिरोध गरेका थियौँ, कोहीले सरकार भित्रैबाट कोहीले संसदमा, कोहीले सडकबाट ।

१) समिति औपचारिकतामा मात्र सीमित नहोस् । छानबिन समिति बनाउने र सामसुम पार्न नदिन हर क्षण सचेत र चनाखो हुनु जरुरी छ । हरेक पटक अनेकन भ्रष्टाचार र आर्थिक अनियमितताका काण्ड सार्वजनिक हुन्छन्, दबाब हुन्छ, छानबिनको प्रयास हुन्छ अनि विभिन्न दृश्य अदृश्य साँठगाँठमा प्रकरणलाई सामसुम पार्ने प्रयास हुन्छ । यस्तो हुन नदिन निरन्तर खबरदारी गरौँ ।

२) यो प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा, र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ । नेता-नाता, सरकारी-गैरसरकारी कसैले छुट पाउनु हुँदैन । साथै यो सँगै कुनै व्यक्ति, संस्था वा समूहको स्वार्थ अनुकूल नीतिगत भ्रष्टाचारका लागि कहीँ कतैबाट ठाउँ बनाउन खोजिएको छ भने त्यसलाई रोक्नुपर्छ । अझै सशक्त ढङ्गबाट प्रतिवाद जरुरी छ, नागरिक स्तरबाट, सञ्चार माध्यमबाट, दलहरूभित्रबाट, सरकार भित्रैबाट र सांसदबाट । अतः सबै तिरबाट अझै सङ्गठित र सामूहिक रूपमा प्रतिवाद गरौँ ।

३) यो प्रकरणसँग जोडिएर जसरी नेपालमा हुने प्रत्यक्ष वैदेशिक लगानी तथा अन्य लगानीको वातावरणलाई प्रभावित पार्ने र आरोप लगाउने विषय उठेका छन् । ती विषय गम्भीर छन् । यस सन्दर्भमा नेपाल सरकारले प्रस्ट गर्नुपर्छ,गराउनुपर्छ ।

पुनः आग्रह छ-समिति मात्र बनाएर प्रकरण फासफुस पार्ने र मिलेमतोमा टुङ्गाउने प्रयास कहीँ कतैबाट नहोस् । सुन काण्डदेखि भुटानी शरणार्थी काण्डसम्म पर्दाभित्र दलका शीर्षहरूबीच जे जस्ता मिलेमतोका प्रयास भए यो प्रकरणमा त्यस्तो हुन नदिन सरकारभित्र, दलहरूभित्र र बाहिर अझै सशक्त ढङ्गले खबरदारी गरौँ ।


Author

थप समाचार
x