दल

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छ : वर्षमान पुन

इकागज |
मंसिर २२, २०८० शुक्रबार २१:१० बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्ने गरी आर्थिक लेनदेन भएको हुनसक्ने बताएका छन् । 

पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाले आज आयोजना गरेको प्रशिक्षणमा पूर्वमन्त्री पुनले एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाए । 


पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको उल्लेख गर्दै नेता पुनले तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न जोकसैलाई पनि कारबाही हुने बताए । 

'सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप-२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो । उहाँ आउने बित्तिकै सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्नका लागि सहमत गराउनुभयो,' उनले थपे, 'भोलिपल्टै मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ, राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन ।'

सिङ्गो पार्टी र जनता माफियाकरण विरुद्धको अभियानमा साथमा रहेको बताउँदै उपमहासचिव पुनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजी विरुद्धको अभियानमा जनताले सरकारलाई साथ दिएको बताए । 

नेता पुनले सरकार केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा रहेको जानकारी दिँदै सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए ।


Author

थप समाचार
x