दल

कांग्रेसकै नेताहरु मिसन ८४ कुर्न सक्दैनौं भनिरहेका छन्ः ओली

इकागज |
मंसिर २८, २०८० बिहीबार १२:३९ बजे

फाइल फोटो

काठमाडौँ -  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन् । 

बिहीबार महाकाली-मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्तामा रहेका काँग्रेसका नेताहरू नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरे । उनले काँग्रेसका नेताहरू अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गरे । उनले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताए । उनले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताए । 


उनले भने, ‘हामीले परिकल्पना गरेको नै समृद्ध नेपाल र सुखी नेपाली हो । समृद्ध नेपाल र सुखी नेपाली बनाउने सन्दर्भमा हामीले मिसन ०८४ भनेका छौँ । त्यो मिसन ८४ जनताको मिसन ८४ हो । नेकपा एमालेले भनेको, नेकपा एमालेले नेतृत्व गरेको हो । तर मिसन ०८४ नेपालको मिसन ०८४ हो । नेपालीको हो । यो देशमा एउटा राष्ट्रिय शक्ति मजबुत भएन भने, यो देशमा सुशासन र विकासको पक्षमा जनशक्ति भएन भने, शान्ति सुव्यवस्थासम्बन्धी कायम गर्न र एकतावद्ध भएर राष्ट्रनिर्माणको कामलाई एकतावद्ध बनाउन सकेनौँ भने देश बर्बाद हुँदैछ । दिनदिनै देश ओराले लागिरहेको छ । नेकपा एमालेको सरकार बलजफ्ती देशी, विदेशी शक्तिबाट ढाइ वर्षअघि हटाइएपछि त्यस यता देशको अवस्था अत्यन्त नाजुक हुँदै गएको छ । यो अवस्थालाई रोकेर नेपाली काँग्रेसकै नेताहरु पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर । किनभने नेपाली काँग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर । सबैमा चिन्ता छाएको छ । तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि अन्ततो गत्वा पनि मिसन ०८४ लाई सफल पार्नैपर्छ ।’ 

अध्यक्ष ओलीले दिनदिनै देश ओरालो लागिरहेको जिकिर गरे । 


Author

थप समाचार
x