दल

चाँडै मिसन ८० सार्वजनिक गर्छौं : रवि लामिछाने

इकागज |
मंसिर ३०, २०८० शनिबार १७:५३ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका छन् । शनिबार रास्वपा काठमाडौँ क्षेत्र नम्बर ९ ले नैकापमा आयोजना गरेको खुला सभामा लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरूको आँखा लागेकाले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका हुन् ।

उनले मिसन २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथिलाई अन्त्य गर्न सक्ने दाबी समेत गरे । उनले मिसन २०८४ मा अन्य दलको दावा हो भने ८४ सम्म रास्वपालाई सरकार चलाउन दिए ८४ मा प्रचार नगरी निर्वाचन लड्ने जिकिर गरे । उनले हरेक दिन एउटा एउटा काण्ड आउने गरेकाले विरोध र आन्दोलन गरेर साध्य नहुने बताए ।


त्यस्तै लामिछानेले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अन्य दलहरूले आगामी राष्ट्रिय सभा निर्वाचनमा एक्लै चुनाव लड्ने आट गर्न नसकेको जिकिर गरे । ठूला भनिएका दलहरूले मदन-वीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरूसँग सुशासनको एजेण्डा मात्र भएको बताए ।

सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा राखे । उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।

त्यस्तै रास्वपा कोषध्यक्ष लिमा अधिकारीले गरिबी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताइन् । उनले विगत ६ महिनामा भ्रष्टाचारका धेरै काण्ड आएपछि निष्पक्ष छानबिन हुन नसकेको जिकिर गरिन् ।

अधिकारीले विभिन्न काण्ड मच्चाउनेहरूले राज्यमा बसेकाहरूलाई अनुचित लाभको प्रलोभन देखाएर लोकतन्त्रको खिल्ली उडाएको धारणा राखिन् । 


Author

थप समाचार
x