दल

मन्त्री प्रकाश ज्वालाको लापरबाहीले बालकुमारीमा घटना भयो : गगन थापा

इकागज |
पुस १६, २०८० सोमबार १२:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन् । आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको बताएका हुन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए । उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए । उनले श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए । उनले साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरबाही भएको बताए ।


‘पर्सनल सेक्युरिटिज अफिसरहरूले सूचना लिइसक्दा पनि राज्य नेतृत्वले होइन-होइन भनेर ठिक छ भन्यो भने त्यो बेलामा उसले रोक्दैन । त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा-पाउँदै यो जबरजस्ती हो । चरम लापरबाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरबाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो । यो समितिले मन्त्रीको लपरबाही हेर्छ कि हेर्दैन ? लापरबाही हो भने दण्ड हुन्छ' थापाले भने 'यो त साउनदेखि भएको हो । मंसिरदेखि त निरन्तर आन्दोलन भइरहेको छ । यसमा गृहमन्त्रीज्यूले सामान्य जानकारी गराउनुभएको छ । त्यसमा पनि हाम्रा केही आशंका छन् । यो समितिले गृह मन्त्रालयको राजनीतिक नेतृत्व र प्रहरी प्रशासनको सुरक्षाको नेतृत्वले ठिक ढंगले काम गरेको छ की छैन ? यसको ल्याप्सेस कहाँ भयो भन्नेकुरासम्म पुग्छ की पुग्दैन ?'

'श्रममन्त्रीको विषय पनि यहाँ छ । यो महत्वपूर्ण छ । साउनदेखिको विषयमा जानकारी राख्नुभयो कि भएन । ईपीएस कार्यालयमा समस्या भयो, भइरहेको छ । त्यो बेलामा पोल्टिकल लिडरसिप भनेको के हो ? श्रममन्त्रीको जिम्मेवारी होइन यो । श्रममन्त्रीले यत्रो भइसकेपछि अलिकति अतिरिक्त जाने भेट्ने कुरा गर्ने सम्हाल्ने होइन । जिम्मा के हो' थापाले भने 'श्रममन्त्रीको बारेमा विभिन्न कुरा आएका छन्, गम्भीर कुरा उठेको छ, त्यसमा ठूलो अनुचित लाभ लिएको देखिन्छ । प्रधानमन्त्री कार्यालयलाई यसबारेमा जानकारी थियो कि थिएन ? ईपीएसको बारेमा संवाद गरेको छ कि छैन । संवाद गरेको भए यि कुराहरू हुँदैन थिए ।’

महामन्त्री थापाले माईतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे । उनले माईतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको बताए ।

‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेण्ट हो । उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो' थापाले भने 'हिजो हामीले त्यही गरेको हो । तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । बल प्रयोग गर्ने घटनाले बढाउँदै लैजाने त हो । हाम्रो डेमोक्रेसीमा हामीले एउटा ठाउँ बनाएको हो । यसको औचित्य छैन, यसको तत्काल खारेज गर्न अनुरोध गर्छु ।’

महामन्त्री थापाले बालकुमारी घटनाका परिवारलाई राज्यले उचित क्षतिपूर्तिसहित उनीहरूको जीवन हेर्नेगरी अघि बढ्न सुझाव दिए । 

र, यो पनि


Author

थप समाचार
x