संसद्

बालकुमारी घटना :

गृहमन्त्रालय पुगेर ईपीएस शाखा प्रमुखले भनेका थिए टेन्सनको विषय छैन ३ बजेसम्म विरोध गर्छन् जान्छन्

इकागज |
पुस १६, २०८० सोमबार १०:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताएका छन् । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले घटना भएको दिन पुस १३ गते बिहान गृहमन्त्रालयले ईपीएस शाखाका प्रमुखलाई गृहमन्त्रालयमा बोलाएर असन्तुष्ट समूहको स्थितिबारे जानकारी लिएको बताए । तर ईपीएस शाखाका प्रमुखले हल्का जवाफ दिएको तर उक्त जवाफ गृहमन्त्रालयलाई चित्त नबुझेको बताए । 


'हाम्रो गृहमन्त्रालयको शान्ति सुरक्षा शाखाको प्रमुखले ईपीएस कार्यालयको प्रमुखलाई पुस १३ गते बिहान गृहमन्त्रालय बोलाएर स्थितिको बारेमा के छ बताउनुस् भनेर सोध्नुभयो । तपाईंहरूले कसरी हल गर्ने सोच्नु भएको छ ? भनेर शान्ति सुरक्षा शाखाका प्रमुखले प्रश्न गर्नुभयो, अहिलेको स्थिति कस्तो छ ? ' गृहमन्त्री श्रेष्ठले उक्त बिहान भएको संवादलाई उदृत गर्दै भने 'ईपीएस शाखाका प्रमुखले केही छैन ३ बजेसम्म बस्छन् जान्छन् भनेर हल्का जवाफ दिनुभएको रिपोर्टिङ गृहमन्त्रालयमा छ । हामीले बिहान नै उहाँहरूलाई बोलाएका थियौँ, इपीएस कार्यालयको प्रमुखलाई १३ गते । तर ईपीएसका प्रमुखले यो टेन्सनको विषय मन पर्दैन, ३ बजेसम्म उहाँहरू बस्नुहुन्छ जानुहुन्छ भन्नुभयो । केही समस्या हुँदैन भनेर जवाफ आयो तर हामीलाई त्यो जवाफ उपयुक्त लागेको छैन ।'

'ईपीएस कार्यालयको त पहिला भएकै नियमावलीमा सीपबिल्डिङमा सहभागीलाई कन्ट्रक्सन र प्रोडक्सन क्षेत्रमा सहभागी नगराउने नीति रहेको देखिन्छ । तर त्यसपछि जब अदालतले अदालत गएका १८ जनालाई चैँ परीक्षामा सामेल गर्नु भनेर निर्देशन दिएको छ' गृहमन्त्री श्रेष्ठले भने 'त्यस निर्णयले जब सीपबिल्डिङका २८ हजारलाई प्रभावित पार्‍यो । अदालतले जब १८ जनाको हकमा मात्रै निर्णय गर्‍यो तब २८ हजारले प्रदर्शन गर्न थाले । १८ जनाले मात्रै पाउने हामीले किन नपाउने भन्ने विषयले विरोध सुरू भएको देखिन्छ । त्यहाँ इपीएस कार्यालयको निर्णय विवेक सम्मत भयो भएन भन्ने प्रश्न विचारणीय छ । आवेदन हामीले नि दिन पाउनुपर्छ भन्ने माग राख्दै विरोध सुरू भयो ।'

'मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ । त्यसपछि आर्मीले मन्त्रीजीलाई पार्टी बैठक स्थलमा पुर्‍याएको छ’ गृहमन्त्री श्रेष्ठले भने । भौतिक योजना मन्त्रीको प्रदर्शनकारीबाट घेराबन्दीमा परेपछि फिल्ड कमान्डर त्यो दिशातिर जान खोजेको र गोली प्रहार भएको बैठकमा गृहमन्त्री श्रेष्ठले बताए ।


Author

थप समाचार
x