दल

माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने

इकागज |
पुस २८, २०८० शनिबार १७:३० बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । सम्मेलनमा सहभागिताका लागि प्रतिनिधि छान्न मापदण्ड बनाइएको उनले बताए ।


त्यसअघि विधानको मस्यौदा पार्टीको तल्लो कमिटीमा छलफल गर्ने निर्णय बैठकले गरेको छ । बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि समन्वय समिति बनाउने निर्णय गरेको छ । समितिले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक तयारी गर्ने प्रवक्ता सापकोटाले बताए ।

त्यस्तै बैठकले पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को संयोजकत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको उनले बताए ।

बैठकमा मुलुकको वर्तमान परिस्थितिका बारेमा प्रचण्डले जानकारी गराएको र प्रदेशका इन्चार्जहरूबाट पनि रिपोर्टिङ भएको प्रवक्ता सापकोटाले बताए । माओवादी अभियान अहिलेसम्मकै प्रभावकारी भएको रिपोर्टिङ आएको र माघ २६ गते बस्ने स्थायी कमिटीको अर्को बैठकमा थप छलफल गरिने उनले जानकारी दिए । 


Author

थप समाचार
x