दल

पैसाले समाजको र चेतनाको स्तर निर्धारण गर्दैन​ : ओली

इकागज |
माघ ४, २०८० बिहीबार १७:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली समाज अनुशासनहीन बन्दै गएको बताएका छन् ।

नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाजका मुख्य समस्या नै अनुशासन र आत्मानुशासन हराउँदै गएको बताएका हुन् । 


‘अहिलेको नेपाली समाजको एउटा गम्भीर समस्या भनेको अनुशासनको समस्या हो, मानिसहरू अनुशासित हुन मन पराउने, मनलाग्दी गर्न मन पराउने,’ ओलीले भने ।

पैसाले मात्र समाज उन्नत नहुने बताउँदै ओलीले आत्मानुशासनले मात्र उन्नत समाज निर्माण हुने बताए । आत्मनियन्त्रणको स्तरले समाजको स्तर निर्धारण गर्ने ओलीले प्रष्ट पारेका छन् । ‘पैसाले समाजको स्तर, चेतनाको स्तर र सामाजिक मूल्यहरूको स्तर निर्धारण गर्दैन,' उनले भने ।​

आफैँलाई आफ्नो अनुशासनमा राख्ने कुरामा अहिले गम्भीर न्यूनता आएको ओलीले भनाइ छ । व्यक्ति अराजक र अनुशासनहीन भयो भने राज्यले पनि त्यसलाई अनुशासित बनाए राख्न नसक्ने उनले जनाएका छन् ।

आज कोही सबैभन्दा बढी अनुशासनमा बस्छ भने त्यो खेलाडी नै भएको ओलीको दाबी छ । त्यसैले खेलाडीबाट सबैले अनुशासनको पाठ सिक्नु पर्नेमा उनको आग्रह छ ।  ‘अहिले खेलाडी बाहेक अन्यमा त्यस प्रकारको अनुशासन कम छ, खेलमा जस्तो अनुशासन चाहिन्छ त्यस खालको अनुशासन सामाजिक अभ्यासको रूपमा अगाडि बढाउन पर्दछ,’ ओलीले भने ।

अनुशासनलाई जीवन पद्धतिको रूपमा विकसित गर्नुपर्नेमा उनले जोड दिए । मानिसलाई अरूले बाध्य पार्ने होइन आफैँ अनुशासित हुने पर्नेमा ओलीको जोड छ ।


Author

थप समाचार
x