दल

'गठबन्धन सरकारले देशको सार्वभौमसत्ता र स्वाधीनतालाई खुम्च्याउने काम गर्‍यो'

इकागज |
माघ ४, २०८० बिहीबार १७:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको गतिविधिका कारण देशको सार्वभौमसत्ता खुम्चिएको बताएका छन् ।

बिहीबार नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकारका कारण देशको सार्वभौमसत्ता र स्वाधीनता जोखिममा परेको बताए । ‘प्रचण्ड नेतृत्व सरकारले देशको सार्वभौमिकता, सार्वभौमसत्ता र स्वाधीनतालाई खुम्च्याउने काम गरेको छ,' उनले भने । 


देशभक्तिको सवालमा, राष्ट्रियताको सवालमा नेकपा एमालेले जत्तिको कसैले पनि काम गर्न नसकेको पोखरेलको दाबी छ । एमाले सरकारबाट हटेसँगै यी सबै कुरा ओरालो लागेको उनको भनाइ छ । 

एमाले सरकारमा रहेको बेला विकास र समृद्धिका अनेक आयोजना सुरु गरेको पोखरेलले बताए । तर, अहिले ती सबै योजनाका काम ठप्प भएको पोखरेलले उदाहरण दिए । आफूले मौका पाएको बेला यति धेरै काम गरेको पार्टी नेकपा एमाले आज चौतर्फी घेराबन्दीमा परेको उनको जिकिर छ । 

पोखरेलले आज उत्पन्न भएका समस्या आजकै परिस्थितिमा समाधान गर्न नसकिने बताए । नयाँ सम्भावनाको जगमा टेकेर समाधान खोज्यो भने मात्र समस्याको समाधान निस्कने पोखरेलले प्रष्ट पारे । समस्या समाधानका लागि नयाँ विकल्प खोज्न आवश्यक रहेको पोखरेलको भनाइ छ ।


Author

थप समाचार
x