दल

बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो : रवि लामिछाने

इकागज |
माघ ५, २०८० शुक्रबार १८:५३ बजे

चितवन- सहकारीका बचतकर्ताहरूको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको बताएका हुन् ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेले बचतकर्ताको सुरक्षा राजनीतिक दलका रूपमा जनप्रतिनिधिका रूपमा र जिम्मेवार व्यक्तिमा रूपमा प्राथमिकतामा रहेको बताएका छन् ।


रास्वपाले सहकारीमा रहेको समस्याको समाधानसहितको प्रतिवेदन समेत तयार पारेको उनले बताए । सहकारीको मुद्दा बाहिर नआउँदै जलेश्वर बैठकले नै सो प्रतिवेदन तयार पारेको उनको दाबी थियो । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले सहकारीको समस्या राजनीतिक रूपमा समाधान गर्नुपर्ने बताए । ‘सरकारबाट अनुमति लिएका सहकारीहरूमा बचत गरिसकेपछि बचतकर्ताको रकम फिर्ता गर्नु सरकारको दायित्व हो,’ उनले भने, ‘यसको समाधान राजनीतिक रूपमा गर्नुपर्दछ ।’

यसअघि लामिछाने सहभागी रहेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा सहकारी बचतकर्ताको लगानी रहेको थियो । त्यतिखेर लामिछाने टिभीका प्रबन्धक निर्देशक थिए । सहकारी सञ्चालक समितिका अध्यक्ष जिबि राई फरार छन् । कसको संरक्षणमा जिबि राईलाई समात्न किन सकिएन ? भन्ने पत्रकारको प्रश्नमा लामिछानेले राज्यका कारण समात्न नसकेको उत्तर दिए ।

‘समात्न सरकार लाग्नुपर्‍यो हामी सघाउन तयार छौँ । जो संग शक्ति छ उसको संरक्षणका कारण नसमातिएको हुन सक्छ,' उनले भने । उनले आफू डेढ वर्षअघिदेखि सो संस्थामा नभएको स्पष्ट पारे । लामिछानेले चितवनका सहकारी पीडितसँग समेत भेट गरेका छन् ।


Author

थप समाचार
x