दल

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने

इकागज |
माघ ५, २०८० शुक्रबार २०:७ बजे

हेटौंडा- पर्सि आइतबार मकवानपुरको हेटौंडा आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने भएको छ ।

हेटौंडामा रहेका धार्मिक क्षेत्रहरूको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।


पार्टी जिल्ला समितिको आज बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँट भएको उनले बताए । 'पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न  निर्देशन दिनुभएको छ, हामी तयारीमा जुटिसकेका छौं,' जिल्ला अध्यक्ष सापकोटाले भने ।​

पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा-१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने कार्यतालिका रहेको छ । उनी हेटौंडा-१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा-१० स्थित भुटनदेवी मन्दिर पनि जानेछन् । 

मकवानपुर-१ बाट प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजकत्वमा माघ ७ गते आइतबार हुने कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति हिजो निर्माण भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।


Author

थप समाचार
x