दल

गाउँपालिका अध्यक्ष यादवलाई आक्रमण गर्नेलाई तत्काल पत्ता लगाउन नेता निधिको आग्रह

इकागज |
माघ ६, २०८० शनिबार २१:४१ बजे

फाइल तस्बिर

जनकपुरधाम- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई तत्काल पत्ता लगाउन प्रहरी समक्ष आग्रह गरेका छन् । 

जनकपुरधाममा बिहीबार राति अज्ञात समूहको आक्रमणमा परी घाइते भएका अध्यक्ष यादवको अवस्थाबारे आज जानकारी लिएपछि नेता निधिले मधेश प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु रेग्मीलाई सम्पर्क गरी घटनालाई गम्भीर रूपमा लिई तत्काल सत्यतथ्य पत्ता लगाउन आग्रह गरे । 


प्रादेशिक राजधानीमै जनप्रतिनिधिमाथि आक्रमण हुनु र घटनास्थलमा प्रहरीको तत्काल उपस्थिति नहुनु चिन्ताको विषय भएको भन्दै नेता निधिले आफ्नो कामको सिलसिलामा निर्धक्क हिँड्डुल गर्न चुस्त शान्ति, सुरक्षाको व्यवस्थाका लागि पनि प्रहरीको ध्यानाकर्षण गराए । 

भेटघाटका क्रममा अध्यक्ष यादवले बिहीबार राति अस्पतालमा रहेका बिरामी आफन्तलाई भेटेर घर फर्किने क्रममा वडा नं ७ स्थित तपसीचोक नजिक आफूलाई घेरा हालेर आक्रमण गरिएको बताएका थिए । आफ्नो परिचय खुलाउँदा पनि मरणासन्न हुने गरी आक्रमण गरेकाले घटना नियोजित रूपमा भएको देखिन आएको र त्यसबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले तदारुकताका साथ काम गर्नुपर्ने अध्यक्ष यादवको भनाइ थियो ।
 
'मलाई रेकी गरेर आक्रमण गरिएको छ । तर, आक्रमण किन र केका लागि गरियो भन्नेबारेमा अनुमान गर्न सकिरहेको छैन । त्यसकारण प्रहरीले सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गरोस्,' अध्यक्ष यादवले भने ।
     
धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेग्मीले घटनाबारे जानकारी पाएलगत्तैदेखि प्रहरीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिए । रातिको समयमा घटना घटेको र अध्यक्ष यादवले समेत आक्रमणकारी कसैलाई नचिनेका कारण धेरै कुरा ठम्याउन कठिन भए पनि आफूहरूले उच्च प्राथमिकताका साथ घटनाबारे अनुसन्धान गर्ने र दोषीलाई उम्किन नदिने उनको भनाइ थियो ।

आक्रमणबाट अध्यक्ष यादवको हातको एउटा औँला भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । हाल उनको अवस्था सामान्य छ ।


Author

थप समाचार
x