दल

कांग्रेस बैठकको निष्कर्ष : राष्ट्रिय सभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित

इकागज |
माघ १९, २०८० शुक्रबार १७:२२ बजे

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको निष्कर्ष निकालेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले कोशीमा गठबन्धन उम्मेदवारको पराजय अनपेक्षित भएको भन्दै गम्भीरतापूर्वक लिने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । माघ २२ गतेदेखि सुरु हुने संसदको अधिवेशनका क्रममा संसद र संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गर्दै राष्ट्र र जनताको हितमा सांसदहरूले काम गर्ने निर्णय गरेको छ । संविधान कार्यान्वयन सम्बन्धी विधेयकहरूलाई छिटो अघि बढाउन सरकारलाई आग्रह गर्ने र संसदमा पेस भएका विधेयकहरूलाई पारित गर्न समेत सरकारलाई आग्रह गर्ने निर्णय गरिएको लेखकले बताए ।


त्यस्तै बैठकले सदनका गतिविधिहरूलाई प्रभावकारी बनाउन अरू राजनीतिक दलहरूलाई पनि अपिल गर्ने निर्णय गरेको छ भने संसद् अधिवेशन चल्दासम्म राजधानी नछाड्न र संसदको पूरै बैठकसम्म बस्न आफ्ना सांसदहरूलाई निर्देशन दिइएको लेखकले जानकारी दिए । समिति र संसद् बैठकमा मन्त्रीहरूको उपस्थिति अनिवार्य गर्ने र सांसदहरूको कुरा सुन्ने तथा सरकारलाई सदनका प्रति उत्तरदायी बनाउन मन्त्रीहरूले गम्भीरतापूर्वक काम गर्न सरकारलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले संसदीय दलको कार्यसमिति निर्वाचन गर्ने निर्णय गर्दै यसका लागि निर्वाचन समिति तोक्न कांग्रेस कार्यसमितिलाई आग्रह गरेको छ भने बजेट अभावका कारण आयोजना पुरा नहुने अवस्थालाई अन्त्य गर्न त्यस्ता आयोजनाहरूमा बजेट थप गर्न पनि सरकारलाई आग्रह गरिएको लेखकले बताए ।

त्यस्तै संसदीय दल बैठकले संसदको विषयगत समितिहरूमा प्रभावकारी भूमिका निर्वाह गर्न समिति संयोजकहरू चयन गरिएको लेखकले बताए । बैठकमा उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरणमा सरकारले चालेको कदम प्रतिशोध मात्रै भएको बताएका थिए । 


Author

थप समाचार
x