दल

शेखरलाई कार्यकर्ताको प्रश्न - हाम्रै साथी काट्दा रगत लत्पतिएको हातसँग कसरी हामीले हात मिलाउँने ?

इकागज |
माघ २२, २०८० सोमबार १४:८ बजे

 झापा - समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरूले गुनासै-गुनासाका पोका थुपारेका छन् ।

सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण काँग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी विचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिँड्न नसक्ने चेतावनी दिए ।


"हाम्रै साथी मार्नेसँग कसरी सँगै हिंड्ने ? काँग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ?"- एक सहभागीले आक्रोशित मुद्रामा प्रश्न गरिन्।

सहभागीहरूले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरूले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरू राखेका थिए ।

भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनीहरुहरुले नेताहरूलाई सुझाव दिए ।

सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टी भित्र छलफल हुने र अबका कुनैपनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे।


Author

थप समाचार
x