दल

बालेनलाई शंकर पोखरेलको जवाफ: धरहरा पुननिर्माणको महत्व नबुझ्नेले आलोचना गर्छ

इकागज |
माघ २३, २०८० मंगलबार १३:३१ बजे

काठमाडौँ  - नेकपा एमाले महासचिव शंकर पोखरेलले धरहरा पुननिर्माणको परियोजनाको दूरदर्शी र महत्व नबुझ्नेले त्यसको आलोचना गर्ने बताएका छन् । 

धरहरा पुननिर्माण नै नगरी उद्घाटन गर्नुपनि एउटा भ्रष्टाचार हो भन्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको भनाइ पछि पोखरेलको यस्तो भनाइ आएको हो । 


शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको काम नसकिँदै धरहराको उद्घाटन गरेको भन्दै आलोचना गरेका थिए । सामाजिक सञ्जालमा मंगलबार लेख्दै पोखरेलले सरकार परिवर्तनसँगै धरहरा पुननिर्माणको कामले गति लिन नसकेको बताए । उनले भने, 'अरू परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको छ । तर निर्माण संझौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ ।'

पोखरेलले धरहरा पुननिर्माणको परियोजना अन्तर्गत त्यसलाई नयाँ स्वरूपमा निर्माण गर्ने गरी पाँच भागमा विभक्त गरिएको बताए । 

उनले भने, 'पहिलो पुरानो धरहराको बचेको भागलाई पारदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षण गरी सुरक्षित राख्ने । दोस्रो त्यसको छेवैमा पुरानो स्वरूपमा तर नयाँ प्रविधिको प्रयोग गरी सुरक्षित धरहराको निर्माण गर्ने । तेस्रो भूकम्पको बारेमा जानकारी गराउने हिसाबले म्युजियमको निर्माण गर्ने । चौथो भित्री सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ अण्डरग्राउण्ड पार्किङको माथिल्लो भागमा बगैंचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने ।' 

त्यसका लागि गोस्वारा हुलाकसमेतको वरीपरीको सरकारी जमिन समेत प्रयोग गरिएको उनले बताए । तत्कालीक प्रधानमन्त्री ओलीले नव निर्मित धरहराको उद्घाटन गरेको पोखरेलले स्पष्टीकरण दिए । 'जसको निर्माणकार्य उति बेलै सम्पन्न भइसकेको छ', उनले भने । 


Author

थप समाचार
x