दल

माओवादीले पार्टीका सबै कमिटी प्रत्यक्ष निर्वाचनको विधिबाट गठन गर्ने

इकागज |
फागुन ३, २०८० बिहीबार १९:३ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) पार्टीका सबै कमिटी प्रत्यक्ष निर्वाचनको विधिबाट गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार काठमाडौँमा सम्पन्न माओवादीको प्रथम विधान अधिवेशनले पार्टी अध्यक्षले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित गर्दै आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने निर्णय गरेको हो । पदाधिकारी भने निर्वाचित कमिटीले चयन गर्ने निर्णय भएको छ । बैठकले आगामी अधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाइने, ११ जनाको केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको छ ।


बैठकले सबै जवसको सम्मेलन गर्ने र पुनर्गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गरिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए । नाम र चुनाव चिह्नका विषयमा प्रश्न उठे पनि अहिले नै नाम र चुनाव चिह्न परिवर्तन गर्ने निर्णय नभएको उनले बताए ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले विधान अधिवेशन अत्यन्त सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्ने गरी विधान बनाइने बताउँदै त्यसैले सङ्घीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने अध्यक्षले जानकारी दिए । उनले मोर्चाहरूलाई वैचारिक तालिमसहित स्वायत्तता दिने र जनवर्गीय सङ्गठनलाई पनि विस्तार गरिने बताए ।

अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकबाट कार्यविभाजन गरेर जानकारी दिइने बताए । प्रचण्डले फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि २० समूहहरूबाट सुझाव सङ्कलन गरिएको थियो । 


Author

थप समाचार
x