दल

प्रतिपक्षले संसदमा उठाएका विषयलाई सरकारले उपेक्षा गर्‍यो : प्रमुख सचेतक गिरी

लुम्बिनीस्थित रामग्राम क्षेत्रलाई भाडामा लगाउने गरी भएको सम्झौताको प्रतिपक्षद्वारा विरोध

इकागज |
फागुन १३, २०८० आइतबार १४:२९ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न पुन: ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए । इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्र गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको थियो । त्यसैगरी लुम्बिनीस्थित रामग्राम क्षेत्रलाई भाडामा लगाउने गरी भएको सम्झौताको पनि प्रतिपक्षले विरोध जनाएको छ ।


त्यस्तै, मिटरब्याज पीडितहरूले काठमाडौँमा प्रदर्शन गरिरहेको विषयमा पनि प्रमुख प्रतिपक्षले सरकारसँग जवाफ माग गरेको छ । लम्पी स्किन रोगका कारण पशु चौपाया मरेका किसानलाई सरकारले क्षतिपूर्ति दिने भनेकोमा हालसम्म उपलब्ध नगराएको विषय पनि प्रमुख सचेतक गिरीले बताए । प्रतिपक्षले संसदमा उठाएका विषयलाई सरकारले उपेक्षा गरेको पनि प्रमुख सचेतक गिरीको भनाइ थियो ।

एमालेको ध्यानाकर्षणपछि सभामुख देवराज घिमिरेले प्रतिपक्ष दलहरूले यसअघिका बैठकमा उठाएका मागहरु सम्बोधन गर्न संसदबाट रुलिङ भइसकेको सभामुख देवराज घिमिरेले उल्लेख गरे ।

उनले हरेक दिन एउटै विषयमा निर्देशन दिइरहनु वाञ्छनीय नहुने भन्दै प्रधानमन्त्री उपस्थित भएर जवाफ दिनुपर्ने भन्ने प्रतिपक्षको मागबारे संसदको ध्यानाकर्षण भएको बताए । 


Author

थप समाचार
x