दल

राजेन्द्र महतोले छाडे लोसपा, राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणा

इकागज |
फागुन १४, २०८० सोमबार १४:३४ बजे

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुराष्ट्रिय राज्य स्थापनाका लागि भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा गरेका छन् ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महतोले लोसपा परित्याग गर्दै नयाँ अभियान घोषणा गरेका हुन् । उनले अभियानमा आउन लोपसालाई पनि आह्वान गरेका छन् । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको नाममा बृहत् प्रशिक्षण कार्यक्रमको समेत सुरुवात गरिएको उनले जानकारी दिए ।


पहिचानवादीहरू एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि सुरु भएको पहिचानावादी आन्दोलन शासकीय षडयन्त्रको सिकार भइ अधुरो रहन गएको महतोले बताए । उनले हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरू तथा देशमा सुशासन र समृद्धि चाहनेहरू सबै संयुक्त रूपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताए ।

अहिले अभियानको मात्रै घोषणा गरिएको र पार्टीको रूप ग्रहण नगरेको उनको भनाइ छ ।

महतोले देशमा एकल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट संविधान निर्माण र राज्यको संचालन भइरहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न नसकेको तर्क गरे । 


Author

थप समाचार
x