दल

एकीकृत समाजवादी नवलपुरका जिल्ला अध्यक्षसहित दर्जनौं एमालेमा प्रवेश

इकागज |
फागुन १५, २०८० मंगलबार २१:३५ बजे

कावासोती- नेकपा (एकीकृत समाजवादी) नवलपुरका जिल्ला अध्यक्षको टोली एमालेमा प्रवेश गरेको छ ।

उनीहरूलाई नेकपा एमाले नवलपुर जिल्ला पार्टी कार्यालयमा एमाले केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका हुन् ।


एमाले जिल्ला कमिटीको आयोजनामा 'घर फर्क' अभियान अन्तर्गत एकीकृत समाजवादी र नेकपा माओवादीसहितका टोलीलाई एमाले प्रवेश गराइएको हो ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुर्तेल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कण्डेल, जिल्ला कमिटी उपाध्यक्ष एवं युवा संघ इन्चार्ज प्रेम पाण्डेसहित जिल्ला कमिटी सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटी, हुप्सेकोट गाउँ कमिटी अध्यक्षसहित सम्पूर्ण कमिटी नै एमालेमा फर्किएका छन् ।

त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्यालसहित डनु गिरी, टीकाराम पाण्डे, कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य दोय शालिकराम भट्टराई र डा. गोपाल खनाल पार्टी केन्द्रीय कार्यालय पुगी पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका ग्रहण गरी एमाले प्रवेश गरेका थिए ।

पछिल्लो समय नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किने क्रम बढ्दो छ । केही महिना पहिला मात्र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यालय सचिव एवं प्रचार विभाग प्रमुखसहितको टोली एमाले फर्किएको थियो ।

पुरानै घर फर्किएकाहरूले एमालेबाट विभाजन हुनुको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेकपा एसका नेता पुरानै घर फर्किएको बताएका थिए । उनले जनताको पार्टी र वैचारिक कम्युनिष्ट पार्टी नेपालमा नेकपा एमाले मात्र रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पृथ्वीसुब्बा गुरुङले विगतमा बाटो बिराएर गई अहिले आफ्नै घर फर्की आएकोमा धन्यवाद व्यक्त गर्दै घर फर्किएकाहरूलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने बताएका थिए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य मना केसी, केन्द्रीय सदस्य दोय कृष्ण पौडेल र तिलक महत क्षेत्रीसहित प्रदेश कमिटीका नेताहरूको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x