दल

सत्ता गठबन्धन भत्किने र बन्ने क्रम निरन्तर चलिरहन्छ : कमल थापा

इकागज |
फागुन २२, २०८० मंगलबार २०:१३ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्कने क्रमको यो अन्त्य नभएको भन्दै विदेशी शक्तिको अभिप्रेरणा, उक्साहट र सौजन्यमा यो खेल निरन्तर जारी रहने टिप्पणी गरेका छन् । 

आज पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै थापाले यो अन्तिम गठबन्धन नभएको र आगामी दिनमा नयाँ नयाँ गठबन्धन बन्दै जानेसमेत दाबी गरे । नितान्त निहित स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा र स्वार्थी मनोवृत्ति  हाबी भएपछि गठबन्धन परिवर्तन भइरहनु अनौठो नहुने उनले बताए ।


मुलुकमा अस्थिरता सिर्जना गर्न चाहने र विदेशी शक्तिको गोटी बन्न राजी हुने दलहरूको मुलुक र जनताको वृहत्तर हित कहिल्यै प्रमुखतामा नपरेको चर्चा गर्दै थापाले सिद्धान्तविहीन, नीतिविहीन, आदर्शविहीन गठबन्धनले निकास दिन नसक्नेसमेत ठोकुवा गरे । 'यो गठबन्धनको विकल्पको खोजी सुरु भइसकेको छ, अस्थिरता नेपाली राजनीतिको अभिन्न चरित्र बनिसकेको छ,' उनले भने ।

साँच्चिकै वैचारिक ध्रुवीकरण हुने हो भने त्यसलाई भने केही हदसम्म सकारात्मक रूपमा ग्रहण गर्न सकिने थापाको भनाई थियो । यो सन्दर्भमा व्यवस्थाको विकल्प खोज्न आन्दोलन बाहेक अर्को कुनै बाटो नभएको भन्दै थापाले विचार मिल्नेहरूले आन्दोलनमा जानु पर्नेमा जोड दिए ।

'यो एउटा अवसर पनि हो, अब व्यवस्थाको विपक्षमा भएका सबै मिलेर एउटा बलियो  कन्जरभेटिभ शक्ति बनाउँदै आन्दोलनमार्फत भ्रष्ट तन्त्रको अन्त्य गरौँ,' थापाले भने । बैठकले आगामी चैत्र १ गते काठमाडौँमा गर्ने जनप्रदर्शनको तयारीमा जुट्न सबैलाई आग्रह समेत गरेको छ ।


Author

थप समाचार
x