दल

नेताहरू पदको पछि लागेर देश बन्दैन : माधव नेपाल

इकागज |
चैत २२, २०८० बिहीबार २१:४३ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताहरू पदको पछाडि लागेर देश नबन्ने टिप्पणी गरेका छन् ।

बिहीबार संघीय राजधानी काठमाडौँस्थित रौतहट टाइम्स साप्ताहिकको २६औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रूपमा रहेका नेता नेपालले उक्त कुरा बताएका हुन् । पछिल्लो समय देशमा पदकै लागि हानथाप हुन थालेका कारण देशको विकासमा बाधा पुगेको उनको जिकिर थियो ।


पूर्व प्रधानमन्त्री नेपालले आफ्नो गृह जिल्ला रौतहटको चर्चा गर्दै सदरमुकाम गौर नगरपालिकामा मेयर शम्भु साहले गरिरहेको विकास निर्माणको काम जिल्लाकै लागि उदाहरणीय रहेको चर्चा गरेका थिए । उनले देशमा लागूपदार्थ दुर्व्यसनीको संख्या दिनानुदिन बढिरहँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाउँदै सरकार मूकदर्शक भएको आरोप लगाएका थिए । उनले रौतहट, कैलालीलगायत जिल्लामा पछिल्लो समय लागूपदार्थ दुर्व्यसनी बढिरहेको भन्दै सरकार, प्रहरी र प्रशासनको भूमिका माथि प्रश्न उठाएका थिए ।

युवाहरू लागूपदार्थको दुर्व्यसनमा दिनप्रतिदिन फसिरहेका छन् तर अपराधीहरू कारबाहीको दायरामा आउन सकेका छैनन् । राज्य सञ्चालनको तरिकामा कमी कमजोरीहरू रहेको भन्दै सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याएका थिए । बिहीबार मैले एउटा पत्रिकामा पढेँ, लागूपदार्थको दुर्व्यसन रौतहट र कैलाली जिल्लामा बढ्दो छ सरकार के गरेर बसेको छ, प्रहरी र प्रशासन के गरेर बसेको छ, युवा लागूपदार्थको दुर्व्यसनमा फस्छन् र अपराधी कारबाहीमा पर्दैनन् भन्दै उनले गुनासो गरे ।

नेताहरू इमान्दार तथा निष्ठावान् भएर स्वच्छ छवि कायम राख्न नसकेमा कर्मचारीहरूले कुनै राम्रो काम सिक्न नसक्ने नेपालले दाबी गरे ।

कार्यक्रममा पूर्व मन्त्री तथा समाजवादी नेता डाक्टर बंशिधर मिश्रले नेपालका नेताहरू बंगलादेशसँग सिक्नुपर्ने बताए । उनले बंगलादेशमा पानीमा धान उब्जाउने गरेको चर्चा गर्दै नेपालीहरू आफ्नो खेत बाँझो राखेर वैदेशिक रोजगारीमा जानु दुर्भाग्य रहेको पूर्व मन्त्री मिश्रले बताए ।

आआफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनाऔं भने प्रतिबद्धता सहित रौतहट टाईंम्स साप्ताहिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रममा संघीय सांसदको शिक्षा सूचना तथा प्रविधि समितिको सभापति अमरबहादुर थापा, प्रेस काउन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, गौर नगरपालिकाका मेयर शम्भु साह, लगायतले वर्तमान समयमा छापा मिडिया अर्थात् पत्रिका प्रकाशन चुनौतीपूर्ण काम रहेको चर्चा गर्दै पत्रिका नियमित प्रकाशन संगै समाज सेवामा समेत सक्रिय रहेको भन्दै सम्पादक प्रकाशक गोबिन्द चौलागाईको प्रशंसा गरेका थिए ।

रौतहटको चन्द्रपुर नगरपालिका घर भई चौलागाईं राजधानी काठमाडौँ बसेर २६ वर्षदेखि नियमित पत्रिका प्रकाशन गर्दै आएका छन् ।


Author

थप समाचार
x