दल

'देश र जनता'माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउँछ : नेता कोइराला

इकागज |
बैशाख १, २०८१ शनिबार ७:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नयाँ वर्ष २०८१ को शुभकामना दिएका छन् । आज शुभकामना सन्देश जारी गर्दै नेता कोइरालाले शुभकामना दिएका हुन् ।

'देशमा साक्षरताको दर सम्मानजनक रुपमा अगाडि बढेको छ । अब गुणस्तरीय शिक्षामा हामी सबैको अर्जुनदृष्टि रहनुपर्नेछ । त्यस्तै जीवनको लम्बाइ पनि विगतको तीस दशकमा झन्डै सत्तरी वर्ष पुग्नु ठुलो उपलब्धि हो' उनले शुभकामना सन्देशमा भनेका छन् 'साक्षरता दरमा देखिएको उत्साहजनक वृद्धिले भविष्यको नेपाल निर्माणको पिल्लर खडा हुँदै गइरहेको आभाष दिलाएको छ ।' 


'नेपाल युवाहरूको देश भनेर चिनिन्छ । तर युवाको आन्तरिक र अन्तराष्ट्रिय पलायन भने उच्च रहेकाले गम्भीर हुने बेला भएको छ । राज्य, निजी क्षेत्र, गैरसरकारी संस्था लगायत विकासका अन्तराष्ट्रिय साझेदारी संस्थाको एकीकृत प्रयासबाट तिनको ऊर्जा देशभित्र नै उत्पादनशील क्षेत्रमा लगाउन अब ढिलो गर्नु हुन्न । जनसांख्यिक लाभलाई उत्पादनमा जोड्ने ध्येय र हुटहुटी नभएसम्म नव नेपालको निर्माण सम्भव छैन' नेता कोइरालाले भनेका छन् ।  

राज्यका सार्वजनिक संस्थाहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न नसके नागरिकको दृष्टिमा तीनको उपयोगिता स्थापित गर्न सम्भव नभएको उनले बताए । हाम्रा संवैधानिक संस्थाहरू मात्र होइन राज्यका सबैजसो सरकारी निकायमा व्यापक सुधारको खाँचो छ । यो सुधार प्रक्रिया अब ढिलो गर्दा लोकतन्त्रमाथीको खतरा बढेर जानेछ । संघीयतालाई सफल पार्न प्रशासनिक र वित्तीय संघीयतालाई इमानदारीपूर्वक हस्तान्तरणको खाँचो छ ।  

'नयाँ वर्ष आगमनसँगै हामी विगतबाट शिक्षा लिएर आगतलाई सच्याउने संकल्प गर्दै अगाडि बढ्नु परेको छ । तब मात्र हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमद्वारा शान्ति र समृद्धको यात्रा तय गर्न सक्नेछौँ । आमनागरिकको हामी राजनीतिकर्मीसँग त्यही अपेक्षा छ । प्रश्न छ के हामी राजनीतिकर्मी नागरिकको अपेक्षाअनुरूप अगाडि बढ्न तयार छौँ वा बढिरहेका छौँ ?' उनले प्रश्न गरे ।

राजनीतिकर्मीहरुले प्राथमिकतामा सधै आफू र आफ्नो दललाई मात्रै राखेकाले जनतामा चरम निराशा पैदा भएको बताए । 'जनतामा आएको त्यो निराशालाई आशामा परिवर्तन गर्नुपर्ने आजको पहिलो आवश्यकता हो । अतः एक पटक आफू र आफ्नो दल भन्दा “देश र जनता”माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ' उनले भने । 


Author

थप समाचार
x