दल

प्यारी रञ्जिता, मिल्दा पनि मनैले मिलौं, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔं : रेशम चौधरी

इकागज |
बैशाख ८, २०८१ शनिबार ९:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टी अध्यक्षसमेत रहेकी श्रीमती रञ्जिता श्रेष्ठलाई छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔं भन्दै स्ट्याटस लेखेका छन् । सामाजिक सञ्‍जालमा लेख्दै चौधरीले मिल्दा मनले मिल्ने र छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔं भन्दै स्ट्याटस लेखेका हुन् ।

'अहिले म काठमाडौँमा केवल तिमी भेट्ने उद्धेश्यले मात्रै आउँदैछु । केवल दुई जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ । मिल्दा पनि मनैले मिलौं, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔं । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ' चौधरीले लेखेका छन् 'यसैमा दुवैको भलाई छ र पार्टीको कल्याण पनि ।'


त्यस्तै चौधरीले श्रेष्ठलाई तीन तत्वबाट टाढा रहन पनि सुझाव दिएका छन् । 'तिमिलाई मेरो सुझाव छ रञ्जु, अहिले केहि दिन ३ तत्वबाट टाढा रहनु, छोरी भन्नेसँग, भाउजू भन्नेसँग र भान्जी भन्नेसँग । यी ३ को खेलबाट बच्नु कल्याण आफै हुन्छ' चौधरीले भनेका छन् 'जसले तिमिलाई मन्त्रीज्यू भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो ।'

त्यस्तै आफूले रञ्जितालाई मुद्दा नहालेको चौधरीले दाबी गरेका छन् । 'प्यारी रञ्जिता, मैले तिमिलाई मुद्दा हालेको होइन, निर्वाचन आयोगलाई हो । अदालतले कारण देखाउ आदेश जारी गर्दा निर्वाचन आयोगको जवाफमा तिमिलाई पनि सोध्ने आदेश गरेको मात्रै हो । तिललाई पहाड बनाउनु हुन्न, समाजमा धेरै जान्ने बुझ्ने मान्छे छन्' चौधरीले लेखेका छन् 'केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौं । तिमी सोझी र अन्जान छ्यौ तर मुडि छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।'


Author

थप समाचार
x