दल

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि सम्मेलन सुरु (फोटोफिचर)

इकागज |
बैशाख ८, २०८१ शनिबार १५:१८ बजे

तस्बिरहरू : न्युजकारखाना

काठमाडौँ- नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु भएको छ । आजदेखि सुरु भएको सो बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधिले सहभागी जनाउँदैछन् । 

शनिबारदेखि सुरु हुने प्रतिनिधि परिषदको बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ ।


महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्नेसमेत बताए ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढीकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रूपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए । 

यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् ।

बैठकको अन्तिम दिन एकजना विशिष्ट व्यक्तिलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरिने उनले बताए । कार्यक्रममा अध्यक्ष ओलीका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायत अन्य पार्टीका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाइ सकिएको जानकारी दिइएको छ ।

 


Author

थप समाचार
x