दल

बेथिति र विकृतिको समुल अन्त्य गर्न आन्दोलनको विकल्प छैन : कमल थापा

इकागज |
बैशाख १६, २०८१ आइतबार १६:४८ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिति र विकृतिको अन्त्य गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् ।

आज पार्टीको लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य प्रणालीले देशलाई अधोगतितर्फ मात्र लैजाने जिकिर गरे । भ्रष्टाचार, कुशासन र मनपरितन्त्रलाई निरन्तरता दिँदा मुलुक समस्याको दलदलमा भासिने भन्दै अब विकल्प खोज्नुपर्नेमा जोड दिए । विकल्प भनेको आन्दोलन भएको भन्दै थापाले आन्दोलनको वातावरण तयार गर्न जिल्ला अध्यक्षहरूसँग आग्रह पनि गरे ।


एक्ला एक्लै आन्दोलन गर्दा सफलता प्राप्त नभएको विगतलाई हेरेर समान विचार भएका बीच मोर्चा बनाउने प्रस्तावले मूर्त रूप नलिएकोमा चिन्ता व्यक्त गर्दै थापाले त्यो दिशामा अहिले पनि प्रयासरत भएको समेत स्पष्ट पारे । तत्काल मोर्चा नबनेको परिस्थिति भए पनि पार्टीले आफ्नो तर्फबाट गर्ने आन्दोलनको तयारीलाई भने निरन्तरता दिन तयारीमा जुट्न समेत थापाले आग्रह गरे।

वैकल्पिक विचार र मार्गचित्र राप्रपा नेपालसँग भएकोले पार्टीलाई बलियो शक्ति बनाउन क्रियाशील र गतिशील हुनुपर्नेमा समेत जोड दिए । बैठकमा महामन्त्रीद्वय भास्कर भद्राले सचिवालय र राजाराम बर्तौलाले संगठनसम्बन्धी प्रतिवेदन पेस गरेका थिए भने जिल्ला अध्यक्षहरूले जिल्लाको अबस्थाबारे बैठकलाई जानकारी गराएका थिए ।


Author

थप समाचार
x