दल

प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ : माधव सापकोटा

इकागज |
जेठ ६, २०८१ आइतबार २०:१८ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मी संक्षिप्त प्रतिक्रिया दिँदै उनले तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा समस्या नआउने समेत धारणा राखे । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिँदै छन् ।


सांसद सापकोटाले भने, 'यसपटक पनि विश्वासको मत बढ्छ, घटेर जाँदैन । तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा गडबडी हुने स्थिति पनि छैन ।' उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा व्यक्त गरेको अभिव्यक्ति सरकार छाड्नेसँग सम्बन्धित नभएको स्पष्ट पारे । 

'उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनमा सैद्धान्तिक रुपमा भनाइ राख्नुभएको हो । वर्तमान सरकारलाई विश्वासको मत दिने र सरकार अघि बढाउने कुरासँग धेरै प्रभावित हुन्छ भन्ने मलाई लाग्दैन,' उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सदनमा सम्बोधनपछि प्रमुख प्रतिपक्षबाट सदन गतिरोध नहुने अपेक्षा व्यक्त गरे । 

'रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेले आफ्नै तरिकाले कार्यादेश बनाउन र निष्पक्ष अभ्यासका लागि स्वतन्त्रता दिन्छौ भनेर बोलिसक्नुभयो,' उनले भने, 'समिति गठनपछि प्रतिपक्षबाट सदन अवरुद्ध हुँदैन भन्नेमा विश्वास छ ।'


Author

थप समाचार
x