दल

काँग्रेसको संसद अवरोध जारी रहने, प्रधानमन्त्रीले कसरी लेलान् विश्वासको मत ?

इकागज |
जेठ ७, २०८१ सोमबार ६:४४ बजे

फाइल फाेटाे

काठमाडौँ - आज प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भने पनि नेपाली काँग्रेसले संसद अवरोध जारी राख्ने बताएपछि थप अन्योल बढेको छ । महामन्त्री गगनकुमार थापाले आइतबार पत्रकार सम्मेलन गर्दै सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने बताए । 

'संसद् ठीक ढङ्गले चल्नका निम्ति हामी चाहन्छौं, बिहान ११ बजे सदनको बैठक अगाडि हामीले संसदीय छानबिन समिति जुन उद्देश्यका लागि  माग गरिएको हो, त्यो उद्देश्यका लागि  समिति बनाउने गरी प्रधानमन्त्री, उपप्रधानमन्त्री  आउनुहुन्छ भन्ने विश्वास राख्छु' उनले भने, 'त्यसो हैन भने संसद्को कामकारबाही अघि बढ्दैन ।'


आइतबार गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि चित्त नबुझे नेपाली काँग्रेसले बोल्न पाउनुपर्छ भन्ने सहमति सभामुख देवराज घिमिरेले उल्लंघन गरेको काँग्रेसको आरोप छ । काँग्रेसले सभामुखले बोल्न नदिएको भन्दै साँझ संसद भवन बानेश्वरमा नै पत्रकार सम्मेलन गरेको थियो । गृहमन्त्री लामिछाने काँग्रेसका नेताहरूको मानमर्दन गर्न तल्लो स्तरमा झरेको थापाले पत्रकार सम्मेलन मार्फत बताएका छन् । 

यद्यपि आज बिहान ९ बजे बस्ने काँग्रेस संसदीय दलको बैठकबाट यसबारे थप निर्णय गर्ने काँग्रेसका एक केन्द्रीय नेताले बताए । 


Author

थप समाचार
x