दल

मिडियालाई तर्साउने उद्देश्यले सिरोहियालाई पक्राउ गर्नु खेदजनक : सभापति देउवा

इकागज |
जेठ ९, २०८१ बुधबार ६:४० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति व्यक्त गरेका छन् । सभापति देउवाले अध्यक्ष सिरोहिया पक्राउ परेपछि ट्‌वीट गर्दै आपत्ति जनाएका हुन् ।

'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो' देउवाले ट्‌वीट गरेका छन् 'मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ ।'


यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल एक्समार्फत कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर सरकारले गल्ती गरेको उल्लेख गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले  कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् । 'कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नै छ । तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ', अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

यसैगरी नेपाल पत्रकार महासङ्घलगायत विभिन्न संघ संस्था, व्यक्तिलगायतले पनि अध्यक्ष सिरोहियाको गिरफतारीप्रति विरोध जनाएका छन् । 


Author

थप समाचार
x