दल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वसांसद तथा जिल्ला सभापतिसहित सयौँ नेता-कार्यकर्ता एमालेमा प्रवेश

इकागज |
जेठ १३, २०८१ आइतबार २०:३३ बजे

सुनसरी- पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, संविधान सभा सदस्य तथा नेपाली कांग्रेस पूर्वकेन्द्रीय सदस्य सुमित्राकुमारी विश्वास नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सुनसरीका सयौँ जना नेता तथा कार्यकर्ता नेकपा एमाले पार्टी प्रवेश गरेका हुन् । त्यस कार्यक्रममा पूर्वमन्त्री विश्वास, नेपाली कांग्रेस सुनसरीका पूर्वजिल्ला सभापति प्रदीपकुमार चौधरीसहित सयौँ नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन् । 


नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका, ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेकपा एमालेका केन्द्रीय सचिव कोशी प्रदेश इन्चार्ज एवं नेपाल सरकारका उप-प्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायत एमालेका प्रतिनिधिहरूले उनीहरूलाई पार्टी प्रवेश गराएका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीलगायत पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरे ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नयाँ प्रतिनिधिहरूले नयाँ एजेन्डा लिएर सत्यको पक्षमा रहेर जनताको हकहितमा लाग्न सुझाव दिए । एक आपसमा जोडिएर यसले व्यवसायलाई पनि सहयोग पुग्ने उनको भनाइ थियो । नेकपा एमालेले सुशासनको काम गर्ने बताए ।

ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेकपा एमाले देशकै ठूलो र लोकतान्त्रिक पार्टी भएको बताए । उनले भने, 'नेकपा एमाले मात्रै यस्तो पार्टी हो जसले आफ्ना कार्यकर्ताको भावना र मर्का सुन्छ, बुझ्छ ।' फरक प्रसङ्गमा ओलीले अहिले कांग्रेस रविको पछि हात धोएर लागेको भन्दै असन्तुष्टि व्यक्त गरे । विभिन्न पार्टी परित्याग गरी आएका प्रतिनिधिले जनताको हकहितमा काम गर्ने छन् र लोकतन्त्र र गणतन्त्रको लागि लड्ने नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटी दुहबीका अध्यक्ष बाबुराम बजगाईँले बताए ।

जुन पार्टीमा लोकतन्त्र र गणतन्त्रको स्थापना हुँदैन त्यो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको पार्टी प्रवेशका कार्यकर्ताले बताएका छन् । दुहबीमा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले टीका तथा खादा लगाएर उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वराज्य मन्त्री विश्वासले आफू जस्ता धेरै नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा रहेको तर सबै पीडित भएर बसेको बताइन् । उनले भनिन्, 'परिवारवाद हाबी भयो, नेपाली कांग्रेसमा बस्ने वातावरण भएन र हामीले विद्रोह गर्‍यौँ, परिवारवादको अत्याचार अन्त्य, लोकतन्त्र र गणतन्त्र रक्षाको निम्ति नेकपा एमाले प्रवेश गरेका हौँ ।'


Author

थप समाचार
x