दल

प्रचण्डलाई किन र केका लागि प्रधानमन्त्री भएको भन्‍ने नै मेसो छैन : महामन्त्री थापा

इकागज |
असार १, २०८१ शनिबार १४:५९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र बिग्रेका विषयमा प्रधानमन्त्रीबाट जवाफको आस नगरेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले प्रचण्डलाई किन र के का लागि प्रधानमन्त्री भएको भन्ने नै मेसो नरहेको भन्दै मुलुकको अर्थतन्त्र बिग्रेका विषयमा प्रधानमन्त्रीबाट जवाफको आस नगरेको बताएका हुन् ।


एमाले सरकारमा पठाएको व्यक्ति हेर्दा सरकारको कामको परिणामबाट पच्छिने बाटो खोजेको उनले बताए । उनले नयाँ राजनीतिक दलहरूको प्रवृत्ति लोकरिझ्याइँभन्दा अरू केही नरहेको तर्क गरे । उपप्रधानसहित चार जना रास्वपाका व्यक्तिहरू मन्त्रिमण्डलमा रहे पनि देशका लागि काम गर्ने भन्दा चटक गर्नेमा ध्यान केन्द्रित गरेको उनको भनाइ छ ।

थापाले सरकारप्रति जनतामा देखिएको निराशालाई कांग्रेसले नै चिर्न सक्ने दाबी गरे । ८४ सालसम्म प्रतिपक्षीमा बस्नुपर्ने र सरकार परिवर्तनको खेलमा नलाग्नेमा कांग्रेस स्पष्ट रहेको उनले बताए । थापाले संविधानलाई थप सान्दर्भिक बनाउनका लागि एमाले र माओवादीसँग छलफल गर्ने धारणा राखे ।

संघ र प्रदेशको संसदको संख्या घटाउनुपर्ने, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने भन्दै उनले यसका लागि सबै दलहरूबीच सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x