दल

सत्ता केन्द्रित राजनीतिले अस्थितरता बढायो : नेता कोइराला

इकागज |
असार १, २०८१ शनिबार २१:२७ बजे

धनुषा- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता केन्द्रित राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताएका छन् । 

नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले देशको राजनीति गम्भीर मोडमा पुगेको बताए । नेता डा कोइरालाले सत्ताकै लागि मुलुकमा अस्थिरता उत्पन्न गराइरहने प्रवृत्तिबाट सबै पार्टीले बाहिर आउन जरुरी रहेकामा जोड दिए ।


'राजनीतिक स्थिरताबिना सुशासन र सुशासनबिना आर्थिक विकासले गति लिन सक्दैन तर देशमा पटकपटक सरकार बदल्ने र अस्थिरता मच्काइरहने अवस्था देखियो । यस्तो अवस्थामा जस्तो र जतिसुकै बजेट ल्याइए पनि आर्थिक विकास तथा समृद्धि हासिल गर्न सकिँदैन,' कोइरालाको भनाइ थियो । 

अब सबै लोकतन्त्रवादीले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएकामा जोड दिँदै नेता डा कोइरालाले त्यसका लागि निर्वाचन प्रणालीमा सुधार गर्न छलफल अगाडि बढाउन आवश्यक रहेको धारणा राखे । 

यसैगरी उनले अस्थिर राजनीतिका कारण विकासले गति नपाउने मात्र नभइ राजनीतिमा अपराधीकरणले प्रश्रय पाइरहेकाले राज्यका निकायले समेत आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताए । 'हामीले देखिरहेका छौँ सहकारी मात्रै होइन, धेरै ठाउँहरूमा अनावश्यक हिसाबले अख्तियारको दुरुपयोग भइरहेको छ । कानुनअनुसार काम गर्ने दायित्व भएका निर्वाचन आयोग, सिआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकाय पनि चुकिरहेका छन् । यी सबैको जड भनेकै अस्थिरता र राजनीतिमा अपराधीकरण हो,' उनले भने । 

सोही कार्यक्रममा नेपाल प्रेस युनियनमा प्रवेश गरेका नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलाई डा कोइरालाले स्वागत गरेका थिए ।


Author

थप समाचार
x