दल

काठमाडौंमा श्रममन्त्रीको पुतला दहन

इकागज |
असार १४, २०८१ शुक्रबार १६:५१ बजे

काठमाडौँ - प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मीका कार्यकर्ताहरूले शुक्रबार काठमाडौं स्थित श्रम तथा रोजगार मन्त्रीको पुतला दहन गरेको छ ।

आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएको नेता कार्यकर्ताहरूले वैदेशिक रोजगारका पीडितहरुको न्यायको माग गर्दै श्रममन्त्रीको पुतला जलाएका हुन्। वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन आईटी आर्मीले झण्डै दुई हप्ता देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । आन्दोलनसँगै उनीहरू वैदेशिक रोजगार विभागमा लगातार धर्ना एवं घेराउ कार्यक्रम गर्दै आएका छन्।  तर आन्दोलनको सरकार माथि कुनै असर परेको देखिएन।


'विदेश जाने युवाहरूसँग बिना रसिद मोटो रकम ठगी गर्ने म्यानपावर, दलाल,लाई कारवाही गर्नुको सट्टा सरकारले उल्टै आन्दोलनकारीलाई ह्यारेसमेन्ट गर्ने कार्य सही हैन । यसमा सम्माननीय प्रधानमन्त्रीको समयमा ध्यान जाओस्', आमजनता पार्टीका अध्यक्ष प्रभु साहले भने । 

वैदेशिक रोजगारीमा जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेन्टलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाही गर्नुपर्ने, फ्री भिसा फ्री  टिकट व्यवहारगत लागू गर्नुपर्ने, निजी मेनपावरहरू खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको आई टी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बताउँदै आएका छन्। 

'अहिले वैदेशिक रोजगारको नाउँमा‘लाखौं लाख युवासँग खर्बौं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौं लाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ अध्यक्ष साहले भनेका छन। 

यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै वैदेशिक रोजगार विभागलाई ज्ञापन पत्र समेत बुझाइसकेको छ ।


Author

थप समाचार
x