दल

'खेतीयोग्य जमिन खण्डीकरण भएर घडेरीमा परिणत हुनु चिन्ताको विषय'

इकागज |
असार १५, २०८१ शनिबार २१:४० बजे

फाइल तस्बिर

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले खेतीयोग्य जमिन खण्डीकरण भएर घडेरीमा परिणत हुनु चिन्ताको विषय भएको बताएका छन् ।

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज अखिल नेपाल किसान सङ्घले चाँगुनारायण नगरपालिका‐९ ताथली माथिल्लो सौडोलमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा उनले जथाभावी जग्गा खण्डीकरण रोक्नु आवश्यक रहेको बताए । 


उनले भने, 'जग्गा खण्डीकरण भएर खेतीयोग्य जमिन मासिँदै छ, आजको दिनलाई धान दिवस होइन, घरेडी दिवस भनेर व्यङ्य गर्न थालिसकेका छन् । खेती भइरहेका जग्गालाई पनि आवश्यक मल छैन, गुणस्तरीय बीउबिजन छैन । किसानको समस्या समाधान गर्नेगरी सरकार अगाडि बढ्नुपर्छ ।'

उनले किसानलाई जतिबेला चाहियो त्यतिबेला मल, गुणस्तरीय बिउविजन र आवश्यकतानुसार सिँचाइको प्रबन्ध हुने गरी व्यवस्था गर्नुपर्ने आवश्यक औंल्याउँदै सरकारले मल कारखाना खोल्नुपर्ने बताए । 

उपमहासचिव ज्ञवालीले भने, 'वास्तविक रूपमा कृषिलाई पेसा बनाउनेलाई पुग्नेगरी भाडामा जग्गा दिने व्यवस्था गरिनुपर्छ, त्यहाँ पर्याप्त सिँचाइको व्यवस्था गरिनुपर्छ, गुणस्तरीय बीउबिजन र आधुनिक प्रविधिको व्यवस्था गरिनुपर्छ ।'

उनले राज्यको दिने अनुदान सिधै किसानको हातमा जानेगरी व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले विदेशबाट गुणस्तर परीक्षण नगरी  आउने बिउविजन र विषादीको आयातलाई रोक्नुपर्ने औंल्याए ।

सरकारले पोल्ट्रीफार्मलाई आत्मनिर्भर बनाएजस्तै अन्य खाद्यबाली, तरकारी र फलफूलमा पनि आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

एमाले पोलिट ब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य किरण थापा र सकुन्तला श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजालगायतले किसानसँगै बाउसे र रोपाइँ गरेका थिए ।


Author

थप समाचार
x