दल

मधेशका सबै विद्यालय बन्द गर्ने प्रभु साहको चेतावनी

इकागज |
भदौ ४, २०८१ मंगलबार १७:४ बजे

फाइल फोटो

रौतहट - आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरू बन्द गर्ने चेतावनी दिएका छन् । 

रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् । विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेशमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भीर नभएको उनले बताए । 


‘मधेशको विद्यालयमा विद्यार्थीको चाप बढी छ । तर विद्यार्थीको अनुपातमा यहाँ शिक्षकको व्यवस्था सरकारले गरेको छैन । विद्यार्थीको अनुपातमा यहाँ विषयगत र तहगत शिक्षकको व्यवस्था गराउन सरकारको हामीले पटक-पटक ध्यानाकर्षण गरायौँ तर सरकार गम्भीर छैन’ आजपा अध्यक्ष साहले भने, ‘अब यस्तै हुने र यसैगरी चल्ने अवस्था भएन । हामी चुप लागेर बस्दैनौँ । सरकारले यथाशीघ्र विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिन्छौं ।’ 

हिजोको विरासत मधेशको राम्रो भएको र अरूलाई शिक्षा दिने मधेश आज किन पछाडि पर्यो भन्ने प्रश्न गर्दै साहले मधेश मानव विकास सूचांकमा पछाडि पार्ने काम सिंहदरबारमा बसेर लुट मच्चाउने गरेको आरोप लगाए । मधेशवादी दलका नेताहरु लुट तन्त्रको व्यापारमा लागेको र सिंहदरबारले मधेशलाई समृद्ध बनाउन नचाहेको बताउँदै साहले अब शैक्षिक आम हडतालको विकल्प नभएको बताए । 

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेशमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बराबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेशमा शिक्षकको व्यवस्था मन्त्रालयले गरेको छैन । 

मधेशको शिक्षाप्रति चिन्तित रहेका साहले विगतदेखि नै मधेशको बिकास, समृद्धि, सचेतनाको बारेमा चासो राख्दै आएका छन् । राज्यको कुदृष्टिले मधेश कुरूप बनेको र मधेशवादी दलका भ्रष्ट चरित्रका कारण मधेश बदनाम भएको बताउँदै मधेशको विकास, समृद्धिका लागि यहीका युवाहरू अग्रमोर्चामा आउनुपर्ने बताए । 

 


Author

थप समाचार
x