दल

प्रभु साहको प्रश्न- गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाउँदा कसरी कानुनी राज्य स्थापित हुन्छ ?

इकागज |
चैत ७, २०८० बुधबार २०:३६ बजे

काठमाडौँ- आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाइएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साहले गौर हत्याकाण्डको दोषी भनेर किटानी जाहेरी परेको व्यक्तिलाई नै मन्त्री बनाइँदा सुशासन र कानुनी राज्य कसरी स्थापित हुन्छ ? भनेर प्रश्न सोधेका छन् ।


‘आज गौर हत्याकाण्डको १७ वर्ष पुगेको दिन हो । म सर्वप्रथम महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । पीडित परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु । झण्डै १७ वर्षदेखि लगातार संघर्षमा रहेका पीडित परिवारहरूसँग पटक पटक सरकारले न्यायको लागि प्रतिबद्धता पनि व्यक्त गरेको छ । गत साउन २३ गते वर्तमान सरकारले गौर हत्याकाण्डको छानबिन गर्छु र दोषीलाई कारबाही गर्छु भनेर लिखित सहमति गर्यो । तर, आज ती घटनामा मुछिएका र त्यो घटनाको दोषी भनेर जसको नाममा जाहेरी दरखास्त छ । विभिन्न न्यायिक आयोगले त्यो घटनामा दोषी भनेर किटान गरेको व्यक्तिलाई मन्त्री बनाइयो,’ साहले भने, ‘यसरी सुशासन र कानुनी राज्यको कुरा अनि मानवअधिकारको कुरा गम्भीर भइरहेको सन्दर्भमा, यी र यस्ता घटनाहरु जो मानवअधिकार र कानुनी शासनसँग जोडिएको छ । यसलाई कसरी प्राथमिकतामा लैजान्छौं र देशलाई आश्वस्त पार्छौं भन्ने प्रश्न गम्भीर भइरहेको छ । आगामी बजेटमा यस्ता विषयलाई प्राथमिकतामा राख्न माग गर्दछु ।’

देशमा आर्थिक संकट रहेको र उद्योग-धन्दा चौपट बनेको र मुठ्ठीभरका मान्छे मालामाल भएको उनले बताए । उनले अहिले खुलेआम देशको पैसा लुटेर विदेश लैजाने काम पनि भइरहेको टिप्पणी गरे । उनले भगौडा दलाल वर्गलाई कारबाही गरिनु पर्नेमासमेत जोड दिए ।


Author

थप समाचार
x