दल

एमाले सुदूरपश्चिम अधिवेशन : कुन जिल्लामा को-को छन् अध्यक्षका आकांक्षी ?

इकागज |
पुस १९, २०७८ सोमबार ९:५८ बजे

धनगढी - नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा नेतृत्वका आकांक्षीले दाैडधुप बढाएका छन् । सुदूरपश्चिमका नाै जिल्लामध्ये अछाममा मात्र एक जनाले पत्रकार सम्मेलन गरेर अध्यक्षमा दाबी गरेका छन् । बाँकी जिल्लामा आकांक्षी आन्तरिक तयारीमा जुटेका छन् । एमालेकाे जिल्ला महाधिवेशन २३ पुसमा  हुँदैछ ।

कैलाली : कैलालीमा एमालेका वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र डेजी पाण्डे आकांक्षी देखिएका छन् । एमालेको नवाैँ महाधिवेसनमा उपाध्यक्षमा निर्वाचित थापा र सचिवमा निर्वाचित चन्दले एमाले विभाजनपछि अध्यक्ष र उपाध्यक्षको पद सम्हालिरहेका छन् । दुवै जनाले स्वभाविक रूपमा आफूहरूको उम्मेदवारी हुने बताएका छन् ।


थापाले आफू उपाध्यक्ष भइसकेकाले स्वभाविक रूपमा अध्यक्षमा दाबी रहने बताए । उनले सहमतिमै आफू अध्यक्ष बन्ने दाबीसमेत गरे ।

चन्दले पनि स्वभाविक रूपमा आफू अध्यक्षको दाबेदार भएको बताएका छन् । ‘विद्यार्थीकालदेखि नै एमालेको संगठन निर्माणमा जुटेको र अहिलेसम्म मैले त्याग गरेको छु,’ चन्दले भने, ‘त्यसैले पनि म अध्यक्षका लागि दाबेदार हुँ, सबैले मलाई सहजरूपमा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’ अर्का आकांक्षी पाण्डेले पनि पार्टी निर्माणका लागि लामो समय काम गरेको भन्दै अब नेतृत्वमा आउन चाहेको बताएका छन् ।

कञ्चनपुर : कञ्चनपुरमा एमालेका वर्तमान अध्यक्ष वीरबहादुर थापा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट अध्यक्षमा लागि आकांक्षी देखिएका छन् । दुबै जना आन्तरिक तयारीमा रहे पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छैनन् ।

डडेल्धुरा : डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउँदसँगै अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पाल आकांक्षी देखिएका छन् । तर, कुनै पनि नेताले अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । 

बैतडी : बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी छन् । दुबै नेताले आन्तरिक तयारी थालेपनि  उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

दार्चुला : दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी सहमति भए पुनः अध्यक्ष बन्ने दाउमा छन् । उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल, ज्ञानेन्द्र घर्ती पनि अध्यक्षका लागि आकांक्षी देखिएका छन् ।

बाजुरा : बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् ।

बझाङ : बझाङमा भने अहिलेसम्म अध्यक्षमा आकांक्षी खुलिसकेका छैनन् । एमाले जिल्ला सदस्य नवराज भट्टका अनुसार अहिले नेताहरू संगठन विस्तारका लागि स्थानीय तह केन्द्रित भएका कारण आकांक्षी खुलेका छैनन् ।

अछाम : अछाममा प्रकाश शाहले पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनीसँगै अछाममा चन्द्र बोहरा र कृष्णप्रसाद जैसी पनि अध्यक्षका आकांक्षी छन् । 


Author

थप समाचार
x