दल

एमाले सिन्धुपाल्चोक अधिवेशन : सर्वसम्मतिका नाममा निर्वाचन प्रक्रिया लम्‍ब्‍याइयो

इकागज |
पुस २५, २०७८ आइतबार १३:४९ बजे

काठमाडौँ - नेकपा एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशनको चुनावी प्रक्रिया लम्बिएको छ । २३ गते उद्घाटन गरेर बन्द सत्र सकिए पनि चुनावी प्रक्रिया भने लम्बिएको हो । 

सर्वसम्मत नेतृत्व चयन गर्न चुनावी प्रक्रिया लम्ब्याएको नेतृत्व चयनका लागि गठित अधयक्षमण्डलका संयोजक शेरबहादुर तामाङले बताए । 'अन्य प्रक्रिया सकिसकेको छ । जिल्ला नेतृत्व सर्वसम्मत रूपमा चयन होस् भन्नका लागि निर्वाचन प्रक्रिया लम्ब्याइएको हो,' तामाङले भने ।


अध्यक्षमण्डलले प्रत्येक १२ वटा पालिकाबाट नेतृत्व छानेर नाम पठाउन भनेको छ  । सो पालिकाबाट आएको नाम अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने तामाङले जानकारी दिए । २७ गतेसम्म सबै पालिकाबाट नाम पठाउन भनेको र सर्वसम्मत नाम आए २९ गते नै जिल्लाले नयाँ नेतृत्व पाउने उनको दाबी छ । सिन्धुपाल्चोक एमाले अध्यक्ष बन्न चारजनाले दाबेदारी प्रस्तुत गरेका छन् । 

अध्यक्षमण्डलका अर्का सदस्य अरुण नेपाल पनि सर्वसम्मत नेतृत्वका लागि निर्वाचन प्रक्रिया लामो बनाएको बताउँछन् । 'लामै छलफल भए सर्वसम्मत रूपमा साथीहरुबाटै नेतृत्व छनोट हुन सक्छ कि भनेर यो प्रक्रिया लम्ब्यायौ', उनले भने । 

२९ मा सर्वसम्मत नेतृत्व चयन नभए मनोनयन दर्ता गरेर निर्वाचन प्रक्रिया सुरु गर्ने तामाङले बताए । 'सर्वसम्मत नभए २९ गते मनोनयन दर्ता हुन्छ २ गते निर्वाचन हुन्छ, ५ गते घोषणा सभा हुन्छ', उनले भने । यसो गर्दा नवौ जिल्ला अधिवेशन उद्घाटन भएको १३ दिनपछि मात्रै नेकपा सिन्धुपाल्चोकले नेतृत्व पाउँनेछ । 

एमालेका जिल्ला तहका नेताहरू भने अध्यक्ष मण्डलको यो तरिकाप्रति असतुष्ट छन् । जिल्लाका एक नेताले भने, 'सर्वसम्मतको नाममा निर्वाचन प्रक्रिया लम्ब्याउने काम भएको छ, यो सरासर गलत हो ।' 'चारजना दाबेदारमध्ये कोहीले पनि नेतृत्व छाड्न लचकता देखाएका छैनन्', 'निर्वाचन प्रक्रिया लामो बनाउँदा उनीहरू गल्ने हैनन्' उनले आक्रोश पोखे ।

निर्वाचन नै गर्नुपरेपछि समयमै गर्नुपर्ने उनको तर्क छ । जिल्लामा अध्यक्षका लागि बलेफि गाउँपालिकाका  अध्यक्ष केदार क्षेत्री, जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल र नेकपा एमालेका जिल्ला सहसंयोजक बालकृष्ण देउजाले दाबेदारी प्रस्तुत गरेका छन् । कुनै पनि नेताले सहमतिका लागि त्याग गर्ने संकेत नदेखाएपछि एमाले जिल्ला अधिवेशन लम्बिएको हो । 

सर्वसम्मत नेतृत्व चयन भए देउजा र नेपालकाे दाबेदारी रहने र यदि निर्वाचन भए दुवैकाे दाबेदारी फिर्ता लिने बताएको एमालेका एक जिल्ला नेताले बताए । यदि निर्वाचन भए श्रेष्ठ र क्षेत्री प्रतिष्पर्धामा हुनेछन् । तर, केन्द्रदेखि सर्वसम्मत नेतृत्व चयन गरेको एमाले  सिन्धुपाल्चाेक निर्वाचन गराउने मुडमा छैन। 

को कति बलियो ?
तत्कालीन माधव कुमार नेपाल एमालेमै रहँदा जिल्लामा नेपाल पक्ष बलियो देखिएको थियो । नेपाल पक्षले ओली पक्षका नेताहरूलाई पेलेर राखेका थिए । केन्द्रमा केपी ओली बलियो हुँदै गर्दा जिल्लामा पनि उनी निकटकाहरू बलिया देखिएका छन् । नेपालले एमाले त्याग गरेर एकीकृत समाजवादी रोजेपछि नेपाल पक्षकाहरू नेतृत्वहीन भएका हुन् । 

कुनैबेला जिल्लामा अमृत बोहोरा, अरुण नेपाल, सुवास कर्माचार्य, डम्बर बहादुर अर्याल, कमल नेपालल र शेरबहादुर तामाङसमेत नेपाल पक्षमा नै थिए । तामाङ अहिले अध्यक्ष ओलीनिकट देखिएका छन् । अवसरमा नाममा पार्टीमा विवादमा रहँदा यताउता गरेकाे  आराेप तामाङलाई छ ।  

उनलाई मन्त्री हुनैका लागि ओलीतिर लागेको आरोप छ । प्रदेश १ मा पनि उनकी श्रीमती उषाकला राई ओलीकै निगाहामा मन्त्री बनेपछि तामाङले पदकै लागि क्याम्प परिवर्तन गरेका थिए । 

अहिले तामाङ, दावा लामा (माओवादीबाट आएका), होम नारायण श्रेष्ठ, सरेश नेपाल, बालकृष्ण देउजाहरू ओली पक्षमा देखिएका छन् । मत परिणामका आधारमा जिल्लामा अहिले पनि तत्कालीन नेपाल पक्ष बलियो भएपनि ओली नेतृत्वमा भएका कारण सोही पक्ष हावी हुने देखिएको छ । जिल्लामा  अहिले पनि १० बुँदे पक्षधरहरू  बलियाे देखिएकाे र निर्वाचन गर्दा उनीहरू आउने  ओली पक्षकालाई छ । त्यसैले सर्वसम्मतिकाे रटान उनीहरूले लगाइरहेका छन् । 


Author

थप समाचार
x